अत्यन्त उपयोगी बोकासी मल : तयारी गर्ने सम्पूर्ण तरिका
परिचय
नेपाल जस्ता विकासोन्मुख देशमा कृषिमा निर्भर रहेको जनसंख्या ठूलो मात्रामा रहेको हुन्छ । नेपालको सन्दर्भमा कृषि उपज बढाउन सरकार सिंचाई, मल, कीटनाशक र रसायनिक औषधिहरूमा बढि केन्द्रित भएको पाइन्छ । कीटनाशक र रासायनिक औषधिको निर्यात, उत्पादन, वितरण र प्रयोगमा भने कुनै ठोस निर्णय गरिएको देखिँदैन । त्यसको प्रतिफल स्वरूप मानवीय स्वास्थ्य, माटोको उर्वर क्षमता जस्ता संवेदनशील विषयमा त्यसको प्रत्यक्ष अप्रत्यक्ष प्रभाव परिरहेकै छ ।
कीटनाशक तथा रासायनिक औषधिको प्रयोग चलनचल्ती जस्तै बन्दै गर्दा यसको अनियंत्रित प्रयोगले माटोमा रहेका जीवाणु र अन्य तत्वहरूको विनाश गर्दछ साथै माटोमा रहेको जैविक विविधतालाई पनि नष्ट पार्छ । त्यस्तै मानव स्वास्थ्यमा पनि प्रतिकुल असर पर्न सक्छ । छाला, आँखा लगायत विभिन्न शारीरिक अंगमा क्यान्सर जन्य रोगको मात्रा बढ्नुमा रसायन जन्य कृषि उत्पादन सामग्रीको प्रयोगले ठुलो भूमिका खेल्दै आएको अनुसन्धान बताउंदै आएका छन् । कीटनाशकका केही आंशिक पदार्थहरू मानव रगत तथा दुध र अन्य खाद्य वस्तुहरूमा पनि देखा परेका तथ्यहरू उपलब्ध छन् । तर आज विश्व जगतमा भने यस्ता विषयको निराकरणको लागि थुप्रै वैकल्पिक विधिहरूको विकास भइरहेको छ । तिनै वैकल्पिक विधिहरू मध्य बोकासी मल निर्माण प्रविधि पनि एक हो । यो प्रविधि घरमै उपलब्ध सामग्रीबाट तैयार पार्न सकिने जापानीज प्रविधि हो ।
मल तयार गर्ने सामग्री:
धानको ढुटो : १०० के.जी.
तोरीको पिना : १० के.जी.
हड्डीको धूलो : १० के.जी.
प्रभावकारी सूक्ष्म जीवाणु (ई.एम.): १५० मिलि
भेली वा सख्खर : १५० ग्राम
पानी : ३५ लिटर
मल बनाउने तरिका
एउटा प्लास्टिक ड्रममा ३५ लिटर पानी राखेर त्यसमा १५० मिलि प्रभावकारी सूक्ष्म जीवाणु (ई.एम.) झोल र १५० ग्राम भेली वा सख्खर मिसाएर २४ देखि ४८ घण्टासम्म राख्ने ।
माथि उल्लेखित सामग्रीहरू राम्ररी मिसाएर त्यसमा प्रभावकारी सूक्ष्म जीवाणु (ई.एम.) पानीको झोल राम्रोसंग छर्ने र त्यसपछि थुप्रो वा डल्लो जस्तो बनाएर प्लास्टिकमा वा कुनै बिर्को भएको भाडामा राख्ने ।
थुप्रो भित्र अक्सिजनको सञ्चार गराउन २ दिन पछि माथिको तल र तलको माथि हुने गरी पल्टाउने ।
यो प्रक्रिया हरेक ३/३ दिनको फरकमा ५ पटकसम्म दोहोर्याउने ।
थुप्रोमा चिस्यान बनाई राख्न आवश्यकता अनुसार पानी दिईराख्नु पर्दछ ।
यसरी बोकासी मल गर्मीको सायममा २० दिन र हिँउदको समयमा वा जाडोमा ४५ दिनमा तयार हुने गर्दछ ।
मल प्रयोग गर्ने तरिका
मल प्रयोग गर्नु अघि बोटविरूवा वरिपरी चिस्यान बनाउने ।
विरूवाको उमेर र जात अनुसार ( जस्तै १०/१२ दिनको विरूवालाई १५ देखि २० ग्राम, तरकारी फलफूलको बोटलाई लगभग १०० ग्राम) जस्ता विशेषता र प्रकार छुट्याएर तैयार पारिएको मलको प्रयोग गर्ने ।
मल राख्दा सिधै बोटविरूवाको जरामा पर्ने गरी नराख्ने ।
मल प्रयोग गर्दा उक्त मललाई माटोमा मिलाएर अथवा माटोले छोपिदिएर प्रयोग गर्नुपर्दछ ।
मल राख्ने क्रममा मुसा लगाएत अन्य जीवबाट विरूवा जोगाउन कम्तिमा १५ देखि २० से.मी. सम्म माटोले छोपिदिनु पर्दछ ।
सावधानी
मल तयार पार्नु अघि हात र मुख छोप्नका लागि मास्क र पञ्जाको प्रयोग गर्ने ।
मल बनाउन लाग्ने सामग्रीको मात्रालाई आवश्यकता अनुसारको अनुपात मिलाउने ।
बनाएको मललाई प्लास्टिक वा कुनै बिर्को युक्त भाँडामा मुखबाट हावा नछिर्ने गरी कस्ने/ बन्द गर्ने ।
घाम पर्ने वा बढी हावा खेल्ने ठाउँमा तयार गरिएको बोकासी मललाई नराख्ने ।
तयार गरिएको मालमा रहेका ओस वा चिस्यानलाई उड्नबाट जोगाउने ।
फाईदाहरू
घरमै उपलब्ध कच्चा पदार्थ प्रयोग गरी सजिलै घरमा नै बोकासी मल तयार गर्न सकिने ।
अन्य प्राङ्गारिक मलको लागत भन्दा कम खर्चमा मल तयार गर्न सकिने ।
थोरै ठाऊँ वा कुनै प्लास्टिक वा अन्य कुनै भाँडा आदिमा सजिलै मल बनाउन सकिने ।
बोकासी मलको प्रयोगले माटोको उर्वरक शक्ति बढाउनुका साथै स्वस्थ र पोषण तत्वयुक्त खाद्य सामग्री उत्पादन गर्न सकिने ।
एक पटक बनाएको बोकासी मल २/३ वर्ष सम्म प्रयोग गर्न सकिने ।
तयार पारिएको मल एक पटक माटोमा राखेपछि २ देखि ४ हप्तामा नै विरूवालाई चाहिने पोषक तत्वहरू उपलब्ध गराउन सकिने ।
मासु, माछा लगायत अन्य गन्धयुक्त पदार्थहरू पनि बोकासी मल बनाउन प्रयोग गर्न सकिने ।
मललाई राम्रोसंग माटोमा मिलाएको खण्डमा मुसा, कुकुर जस्ता अन्य बाहरी बाहिरि जन्तुबाट बोटविरूवालाई बचाउन सकिने ।
कम्पोस्ट भन्दा बोकासी मल किन उपयोगि ?
कम्पोस्ट भन्दा बोकासी मल चाँडो तयार हुने र नाईट्रोजनको मात्रा कायम राख्दै धेरै मात्रामा कार्वनडाईअक्साईड उत्पादन नगर्ने ।
मालमा पाइने पि.एच. अर्थात अम्लियपनको मापनको आधार हेर्दा कम्पोस्टको पि.एच् ४/५ र बोकासी मलको पि. एच्. ७/८ हुने गरेको ।
कम्पोस्ट भन्दा बोकासी मल तयार पार्ने प्रक्रिया चाँडो र सजिलो हुने ।
बोकासी मलको प्रयोगले माटो भित्र रहेका विशेष जीवाणुहरू सक्रिय एवम् क्रियाशील हुने ।