संखुवासभामा सुन्तलाजात फल कुहाउने औंसाको पहिचान
आश्रयदाता फल : सन्तलाजात
स्थान : खाँदबारी नगरपालिका ०७, संखुवासभा
उचाई : १,०८० मिटर (समुन्द्र सतह देखिको उचाई)
औसत तापमान : १०-२०°सेल्सियस
अध्ययनको विधि
गत वर्ष २०७६ को कार्तिक, मंसिर महिनामा संखुवासभा जिल्लाको सुन्तलामा औंसा कीराले २०-२५% फल नष्ट गरेको पाईएको थियो । यसरी क्षती गराउने कुन जातको औसा हो भन्ने कुरा भने यकिन भईसकेको थिएन । त्यसैले हाम्रो प्राविधिक टोलीले प्रभावित ठाउँहरुबाट संक्रमित फलहरुको नमूना संकलन गरी लार्भाहरु (maggots) पालेका (Rearing) प्रयोगशालामा राख्यौं । हालै मात्र उक्त औंसाको प्युपा अवस्थाको पहिचान भएको छ । जेठ ०५ गते उक्त लार्भाहरुले प्यूपा अवस्थाबाट जम्मा २०१ दिनमा वयस्क भएको देखियो । यसरी निस्किएका वयस्क झिंगाहरु Bactrocera minax (Chinese Fruit fly) हुन् भनेर पहिचान भयो ।
चाईनीज फ्रुट फ्लाईको वयस्क पहिचान हुने आधारहरु
- यसो हेर्दा बारुला जस्तो देखिने ।
- शरीरमा सुन्तले पहेंलो र खैरो रङका धर्काहरु देखिन्छन् ।
- वयस्क माउको छातीमा तीन ओटा पहेंला धर्साहरु हुन्छन् ।
- पखेटाको अगाडीको भागमा फराकिलो गाढा खैरो धब्बा देखिन सकिन्छ
- अन्य प्रजातिको फ्रुट फ्लाईको तुलनामा यस प्रजातिको पेटको खण्ड लाम्चो आकारको हुन्छ ।
कस्तो हुन्छ चाईनिज फ्रुट फ्लाईको जीवन चक्र ?
यसले सर्वप्रथम सुन्तलाजात फलफूलको मसिना दाना गुच्चा आकार (चिचिला) अवस्थामा पोथी झिंगाले आफ्नो फुल पार्ने अंग (ओभिपोजिटर)ले दानाको बोक्रा छेडी अण्डा पार्दछ ।
अण्डा पारेको करिव १ महिनामा अण्डाबाट लार्भा/औंसा निस्कन्छ र फल वृद्धि भए संगै औंसाहरुको पनि विकास भई राखेको हुन्छ र जब फल छिप्पिने बेला सम्ममा औंसाहरुले फलको रस, गुदी खाएर फललाई हलुका बनाउँदछन् । कीरा संक्रमित फलहरु बोटबाट झर्दछन् । साथै लार्भाहरु फलको बोक्रामा प्वाल पारेर बाहिर निस्कन्छन् र माटो मुनि अचल अवस्था (प्युपा) मा जान्छन् ।
छिप्पिएका लार्भा फलबाट बाहिर निस्कि अर्को अवस्था प्युपा बन्नको लागि माटो खनेर ४ देखि ५ से.मी. मुनि गई बस्दछन् । (धेरै मुनिमा १५ देखि १८ सेमि सम्म माटो मुनि गएको पाईएको छ।) संखुवासभामा भने ५ सेमि माटो मुनि गई प्युपा बसेको पाईयो ।
संखुवासभा जिल्लामा कीराको अचल अवस्थामा ६.५ देखि ७ महिना पछि वयस्क (माउ) झिंगाको रुपमा भेटिएको छ । संखुवासभा जिल्ला क्षेत्र भित्र वयस्क पोथी झिंगाले जेठ, असार, साउन महिनामा अण्डा पार्न सक्रिय भएको पाईयो ।
व्यवस्थापनका उपायहरु
- सुन्तलाजात फलफूलको बगैंचा स्थापना र व्यवस्थापनका लागि कृषि प्राविधिकको सल्लाह अनुसार गर्ने । प्रत्येक वर्ष काँटछाट गर्ने । मल तथा सिंचाईको राम्रो व्यवस्था गर्ने ।
- औंसा लागेका फलहरुलाई जथाभावी नफाली जमिनमा ३ फिट खनेर कम्तीमा ३० सेमि माटो मुनि पर्ने गरि पुरी दिने वा सम्भव भए जलाई दिने वा पशुहरुलाई पकाएर आहारको रुपमा पनि दिन सकिन्छ ।
- क्षेत्रगत कीरा नियन्त्रण कार्यक्रमको विधि अनुसार गाउँ, टोल (समुदाय)को बगैंचा समेटेर फलेका ३ बोट मध्ये १ बोटको निश्चित ठाउँमा चिन्ह लगाई एक भाग प्रोटिन बेट (ग्रेट फ्रुट फ्लाई बेट जसमा २५ % प्रोटिन हाईड्रोलाईसेट र ०.१ % एबामेक्टिन कीटनाशक विषादी हुन्छ।) मा दुई भाग पानी मिसाई तयारी प्रोटिन बेटको घोल स्पोट एप्लिकेशन विधि अनुसार हप्ताको १ पटक जम्मा १० पटक स्प्रे गर्ने । विषादी छर्दा अनिवार्य रुपमा सुरक्षित पहिरन लगाई सावधानी पूर्वक छर्ने ।
(यस अध्ययनको क्रममा जुनार सुपरजोन, सिन्धुलीका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत श्री देवराज अधिकारीको प्राविधिक सहयोग रहेको थियो ।)