मंगलबार, ०५ असोज २०७८

नेपालमा खरायो पालनको सम्भावना र महत्व

Share via:
  • 2K
  •  
  •  
  •  
  •  
    2K
    Shares

पछिल्लो समय नेपाली पशुपालन क्षत्रमा नौलो आयाम थपिने क्रममा खरायो पलान व्यवसाय पनि एक नयाँ व्यवसाय हो । यो व्यवसाय नयाँ भएपनि सम्भावना बोकेको उदाउँदो व्यवसाय हो । बिस्तारै यो व्यवसाय प्रति मानिसहरुको आँखा जाँदै छ ।

खरायो एक घाँस खाने प्रकृतिको सानो घरपालुवा जनावर हो । यसलाई मानिसहरुले मासु उत्पादन, ऊन उत्पादन र छाला उत्पादनको उद्देश्यले पालन गर्दै आएको पाईन्छ । पश्चिमा देशहरु जस्तै फ्रान्स, ईटाली, बेलायत लगायतका राष्ट्रहरुमा धेरै अगाडी देखि खरायो पालन गर्दै आएपनि नेपालमा भने खरायो पालनको इतिहास त्यति लामो छैन ।

नेपालमा पहिला जंगली खरायोको सिकार गर्ने चलन भएपनि वि.सं. २०२८ सालमा मात्र लुम्ले कृषि केन्द्रले क्यालीफोर्नियाबाट हाईलान जातको खरायो भित्र्याई घरपालुवा खरायो पालन सुरु गरेको देखिछ । त्यसैगरि २०५५ सालमा पाख्रिबास कृषि केन्द्रले ऊन उत्पादनको उद्दश्यले भारतबाट अंगोरा जातको खरायो ल्याई पालन प्रविधि अध्ययन तथा अनुसन्धानको सुरुवात भएको पाईन्छ । विविध प्राविधिक कारण अध्ययन अनुसन्धानको कमी र व्यवस्थापकीय कारणले गर्दा खरायो पालन दीगो हुन नसकेपनि नेपालमा यसको सम्भावना र महत्व भने प्रचुर मात्रामा देख्न सकिन्छ ।  

नेपालमा खरायो पालन व्यवसाय धेरै सम्भावना बोकेको क्षेत्र हो । खरायो पालन व्यवसाय थोरै जमिनमा थोरै लगानीबाट सुरु गर्न सकिने व्यवसाय हो । धेरै प्राविधिक ज्ञान आवश्यक नपर्ने अनि सजिलै व्यवस्थापन गर्न सकिने भएकाले पनि यो एउटा सजिलो व्यवसाय हो । स्थानीय श्रोत साधनहरु प्रयोग गरेर पनि राम्रो संग खरायो पालन गर्न सकिन्छ । खरायोको खोर निर्माण गर्न स्थानीय श्रोत जस्तै बाँस, काठ प्रयोग गर्न सकिन्छ । खाली रहेका घर गोठ समेत प्रयोग गर्न सकिन्छ ।

यसलाई हरियो घाँस खुवाएर मात्र पनि पाल्न सकिन्छ किनभने यसले अरु घाँस खाने पशुको तुलनामा हरियो घाँस सजिलै पचाउन सक्छ । तर थोरै दाना दिन सकियो भने राम्रो वृद्धि विकास हुन्छ । त्यसैले स्थानीय स्तरमा उपलब्ध हुने घाँसहरु जस्तै जै, मकै, वर्सिम आदि र स्थानीय स्तरमा उत्पादन हुने अन्नहरु खुवाई कम खर्चमा उत्पादन गर्न सकिन्छ अनि उत्पादन लागत कम हुने र नाफा धेरै हुने देखिन्छ । अध्यन अनुसार अरु १ पाउण्ड (०.४५ के.जी) मासु उत्पादनको लागि पालिएको अरु पशु जस्तै खसी, बंगुर, कुखुरा भन्दा ६ गुना कम दाना र पानी खपत गर्ने गरेको देखिन्छ  ।

खरायोको प्रजननमा मौसम तथा वातावरणले कुनै असर नगर्ने भएकाले बाह्रै महिना बाली जाने र बच्चा उत्पादन गर्ने क्षमता हुन्छ । खरायो छिटो छिटो ब्याउने गर्दछ भने यसको गर्भअवस्था (Gestation Period) मात्र ३१ दिनको हुन्छ । एकैपटक धेरै बच्चा उत्पादन गर्ने सक्ने भएकाले धेरै प्रजननशील प्राणीमा पर्दछ । यसले एक बेतमा ५ देखि ६ वटासम्म बच्चा जन्माउन सक्छ र ७ महिनामा नै वयस्क हुने गर्दछ ।

नेपालमा मासु उत्पादन कम भएको र ग्रामीण क्षेत्रमा कुपोषणको विकराल अवस्था रहेकोले पनि खरायो पालन व्यवसाय उचित व्यवसाय बन्न सक्छ । नेपालको मध्य तथा उच्च पहाडी क्षेत्रमा खरायो पालन गर्न उपयुक्त रहेको कुरा अध्ययन तथा अनुसन्धानले पनि पुष्ठी गरेको अवस्था रहेको छ ।

नेपाली समाज आजको दिन सम्म खरायो पालन र खरायोको मासुसंग त्यति अभ्यस्त छैन । यसो हुनुको प्रमुख कारण मानिसहरुमा खरायो र खरायोको मासुको महत्वबारे अनविज्ञ रहनु हो । अझ पनि यसको प्रचार प्रसारको कमी भएको महसुस गर्न सकिन्छ ।

अध्यन अनुसार खरायोको मासु अरुको मासुको तुलनामा सबैभन्दा स्वस्थ मासु मानिन्छ । यसको मासुमा चिल्लो पदार्थ र कोलेस्टोरलको मात्र कम पाईने हुनाले गर्दा मधुमेह, दम र मुटु रोगका बिरामीहरुले पनि सजिलै उपभोग गर्न सक्दछन् । साथै प्रोटिन, क्याल्सियम, म्याग्नेसियम र पोटासियमको मात्र पनि बढी पाईने हुनाले स्वास्थ्यको लागि उत्कृष्ठ मानिन्छ । त्यसैगरि क्यालोरी मात्रा कम पाईने र मासुमा पाइने Ketotifen नामक तत्वले स्वास प्रश्वास सम्बन्धि दीर्घ रोग जस्तै दमलाई औषधिको रुपमा काम गर्दछ  ।

तालिका १. खरायोको मासु र अरुको मासुमा पाईने पोषण तत्व बीच तुलना

जनावरको प्रकारप्रोटिन (%)बोसो(%)क्यालोरी /lbकोलेस्टेरोल (ng/kg)
खारायो२०.८१०.२७९५५०
कुखुरा२०.०११.२८१०६०
टर्की२०.१२२.२११९०
भेंडा१५.७२७.२१४२०
बंगुर११.९४५.०२०५०१०५
    स्रोत : प्रबिधि संगालो, २०४६

तथ्यांक अनुसार नेपालमा मुटु रोग, मधुमेह, दम लगायत नसर्ने किसिमको रोग लाग्ने मानिसहरुको संख्या बढ्दै गएको छ र मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दै गएको अवस्था छ । बढ्दै गएको सहरीकरण, अस्वस्थ खानपिन, बानी व्यवहार र जीवनशैलीको कारण यस्तो रोग बढ्दै छ र निकट भविष्यमा पनि बढ्ने प्राय निश्चित छ ।

यस्तो अवस्थामा मानिसहरुमा जनचेतनाको वृद्धि हुँदैछ । कसरी स्वस्थ रहने विषयमा मानिसहरु चिन्तित छन् र स्वस्थ खाद्य पदार्थ र स्वस्थ मासुको माग बढ्दै गएको अवस्था देखिन्छ । खरायोको मासु मुटु रोगी, मधुमेह, दम रोगी तथा बढी तौल भएका मानिसहरुले समेत उपभोग गर्न मिल्ने स्वास्थ्यबर्द्धक तथा शरीरको लागि लाभदायक मानिन्छ । त्यसैले खरायोको मासुको पौष्टिक महत्वबारे प्रचार प्रसार गर्ने अनि खरायो पालन व्यवसायलाई प्रोत्साहन गर्ने समय आएको छ ।

पछिल्लो समय मानिसहरु सौखिन बन्दै गैरहेको अवस्था छ । त्यसैले नयाँ कुरा खाने र नयाँ कुरा लगाउने त फेसन नै बनेको छ । खरायोको भुत्लामा उच्च गुणस्तरको रेशा हुने हुनाले भेंडाको ऊन भन्दा १० गुना बढी न्यानो हुने हुनाले खरायोको छाला तथा भुत्लाबाट बनेका सामग्री महँगोमा बिक्री हुने गरेको छ ।

कुनै धर्म र समुदायबाट खरायोको मासुको वहिष्कार नभएकोले गर्दा भविष्यमा खरायोको मासुको माग तथा उपभोग बढ्ने देखिन्छ । अर्को भनेको सधैं एकै प्रकारको खाँदा खाँदा दिक्क बनेका उपभोक्ताको लागि नयाँ किसिमको मासुको स्वाद लिने मासुका पारखीहरुले गर्दा पनि खरायोको मासुको खपत बढ्दै गएको देखिन्छ । आजकाल नेपालको तारे होटेल तथा रेस्टुराँमा खरायोको मासुको खपत बढेको देखिन्छ । होटेल तथा रेस्टुरेन्टको मेनुमा खरायोको मासु, मम लगायतको परिकारको सूची समावेश हुनु र महँगो मुल्यमा मासु बिक्री वितरण हुनुले पनि खरायोको मासुको महत्व र सम्भावना झल्काउँछ । बजारमा अहिले खरायोको मासुको मूल्य रु ८००/- देखि रु १०००/- सम्ममा बिक्री वितरण भइरहेको देख्न सकिन्छ । त्यसैले खरायो पालन व्यवसाय नेपालमा उपयुक्त र महत्वपूर्ण छ । यसबारे गहिरो अध्यन अनुसन्धान र व्यापक प्रचार प्रसारको आवश्यक देखिन्छ । यसमा सरकारी निकायहरूको ध्यान जानु जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित