कर्णाली प्रदेश र रैथाने बाली
मानव विकास सूचाङ्कको पुच्छरमा नेपालकै अति विकट जिल्लाका रुपमा परिचित वा परिचय नै पाएको कर्णाली प्रदेशको १० जिल्ला मध्य हुम्ला जिल्ला अत्यन्तै दुर्गम हिमाली जिल्ला हो ।
रैथाने बालीहरु भन्नाले पञ्जीकरण नगरिएका र व्यवसायीक रुपमा नगएका बाली बुझ्न सकिन्छन् । सामान्यतया रैथाने बालीहरू अन्य फसल प्रजाति जस्तै हुन् । तर यिनका कृषि आनुवांशिक स्रोतहरू बाली प्रजनन् अनुसन्धान र विकासका लागि मूल्यवान् ठानिन्छन् ।
रैथाने बाली सामाजिक तथा आर्थिक मूल्य बोकेका बालीहरू हुन् जुन मानव भोजन र पशुवस्तुका चारा तथा आहाराका साथै औषधिजन्य प्रयोजनका लागि समेत प्रयोग गरिन्छन् । खाद्य तथा पोषण सुरक्षार बाली विविधीकरणका लागि पनि रैथाने बाली महत्वपूर्ण मानिन्छन् । रैथाने बालीले विभिन्न रोग र कीरा तथा प्रतिकूल मौसम जस्तै सुख्खा खडेरी, अनावृष्टि तथा अतिवृष्टि सहन सक्ने विशेषता बोकेका हुन्छन् । यी गुणहरू बाली प्रजनन् तथा सुधारका लागि महत्वपूर्ण मानिन्छन् । यसका साथै देशका विकट भेगमा खाद्य तथा पोषण सुरक्षाका लागि वरदान साबित छन् ।
रैथाने बाली कुनै ठाउँ विशेषको स्थानीय हावापानीमा पाइन्छन् । नेपालका प्रमुख रैथाने बालीमा छिर्के-मिर्के सिमी, मिठे र तिते फापर, भागो, नेपाले भट्ट, सेतो भट्ट, मार्सी धान, पोखरेली जेठोबुढो, घैया धान, जोरायल बासमती, दर्माली, गुडुरा, गौरिया, फुला उठ्ने साना दाना भएको मकै पर्छन् । नेपालको उच्च तथा मध्य भेगीय जिल्लाहरू कर्णालीका ५ जिल्ला – मुगु, कालीकोट, हुम्ला, जुम्ला, डोल्पा र अरु प्रदेश का केहि जिल्ला बझाङ, बाजुरा, डोटी, पर्वत, गोरखा, रामेछाप, काभ्रे तथा दोलखा लगायतका जिल्लामा रैथाने बाली पाइन्छन् । यी जिल्लामा मुख्य गरी कोदो, फापर, चिनो, कागुनो, उवा, जौ, लट्टेजस्ता रैथाने बाली पाइन्छन् ।
कृषकले रैथाने बालीको व्यवसायीकरणमा झेल्नुपेरको प्रमुख समस्या भनेको उक्त बालीको बीउ सहज उपलब्ध नहुनु हो । कृषकलाई रैथाने बालीको बीउ सहज उपलब्ध गराउन सरकारले कृषक समूह र सहकारी मातहतका फार्म केन्द्रहरू तथा अनुसन्धान केन्द्रहरू मार्फत यी बालीहरूको बीउ उत्पादनमा जोड दिनुपर्छ। रैथाने बालीको व्यवसायीकरण गर्दा वातावरण, मानव स्वास्थ तथा माटोमा पर्न सक्ने नकारात्मक प्रभावको पूर्व मूल्याङ्कन गरी सोही बमोजिम दिगो र सन्तुलित व्यवसायीकरण गरिनुपर्छ ।
आज रैथाने बाली लगाउने र उपयोग गर्ने कर्म निकै कम भएको पाइन्छ । चामलको तुलनमा चिनो, कागुनोमा सबै खाले पोषण तत्व पाइन्छन् जसका कारण आज तिनै रैथाने बालीको शहरी क्षेत्रमा दिनदिनै आकर्षण बढ्दै गएको पाईन्छ। हिजोका दिन गरिब जनताले चिनो, कागुनो आफ्नो आहाराको रुपमा लिने गर्थे भने आज शहरी क्षेत्रका धनिमानी मान्छे खोजि खोजि खाने गरेको पाईन्छ ।
आज शहरी क्षेत्र खानाका रुपम मात्रै नभई ओषधीका रुपमा लिने गरेको पाईन्छ । आज शहरी क्षेत्रमा दिन दिनै मधुमेह अथवा सुगर रोगीहरुको संङख्या बढदै गएको पाईन्छ त्यसैले चिनो, कागुनोले यस रोगको नियन्त्रणमा महत्त्वपूर्ण योगदान गर्न सक्दछ किनकी यसमा एन्टि-अक्सिडेन्टको मात्रा बढि पाइन्छ।
गरिबले मात्र कोदो, जौ र मकैबाट बनेका परिकार खान्छन् भन्ने मानसिकताको असरले पनि रैथाने बालीको लोप हुनुको एक कारण मान्न सकिन्छ ।
अन्य बालीमा जस्तो अनुदान नभएको, यहीको परिवेश अनुसारको अनुसन्धान नहुनु लोप हुने मुख्य समस्या हो । सरकारको बेवास्ताले पनि रैथाने बाली छिटो लोप हुन थालेका हुन् । विशेष संरक्षित क्षेत्र घोषणा गरेर रैथाने बालीको संरक्षण र प्रवर्द्धन नगरिएमा बीउ समेत लोप हुने सम्भावना देखिन्छ ।
पहिले भारत लगायत अन्य मुलुकबाट खाद्यान्न लगायतका वस्तुहरू आयात नहुने भएकाले पनि किसानहरू यी बालीका उब्जानीलाई विशेष प्राथमिकतामा राखी उत्पादन गर्ने गर्दथे । तर हाल खाद्यान्नको सहज आयातले कृषकहरू रैथाने बाली लगाउनुभन्दा आयात गरिएको खाद्यान्न बाट नै आवश्यक दैनिक खाद्य परिपूर्ति गरिरहेका छन् ।
राज्यले रैथाने बालीको संरक्षणका निम्ति कृर्षकहरुलाई तालिम र प्रोत्साहन दिनु आवश्यक छ । समयमै राज्यले रैथाने बालिको संरक्षण र प्रवर्द्धनको अभियान थालनी गर्न जरुरत छ । यदि राज्य सडक पुर्याउने नाममा विभिन्न एनजिओ, आएनजिओ परिचालन गरेर चामल दिएर सडक बनाउन लगाउने, जनतालाई भातमुखि बनाएर रैथाने बालीको संरक्षण तिर ध्यान नदिने हो भने रैथाने बालीको लोप हुदैँ जानेछ । अर्कातिर सिटामोल पनि नपाउने हुम्ली जनता, आउने दिनहरुमा मधुमेह र सुगर रोगीको सिकार नबन्लान् भन्न सकिदैँन ।