सोमबार, २१ माघ २०८१

अतिस खेतीबाट जीवनस्तर बदल्दै जुम्लीहरु

तीन बर्ष अघि सम्म जुम्ला तिला गाउँपालिका–७ का परबहादुर रोकाया निरन्तर कालापहाड जान्थे। उनी महिनौँ सम्म शरीर घोटेर पनि पचास हजार रुपैयाँ सम्म कमाई हुदैनथ्यो । त्यो कमाइले परिवार चलाउनै मुस्किल हुन्थ्यो। उल्टै ऋण गरेर गुजारा चलाउनु परिरहेको हुन्थ्यो । तर पछिल्लो समयमा व्यवसायिक रुपमा अतिस खेति गरेपछि उनको कालापहाडको यात्रा रोकिएको छ । उनी भन्छन्, ‘अतिस खेतीले कालापहाड छुटायो। रोजगारी दिएर आत्मनिर्भर हुन प्रोत्साहित ग¥यो ।  अहिले घरमै परिवार संगै बसेर खेती गर्न व्यस्त भएको छु।’  

तिला गाउँपालिका ७ पोखरी गाउँको धनिगाडमा एक हेक्टर क्षेत्रफलमा अतिस खेती गरेका छन्। अतिसको बीउ र जरा बेचेर वार्षिक तीन देखि चार लाख रुपैयाँ आम्दानी भइरहेको छ। उनी भन्छन्, ‘अतिस खेती गरेपछि पारिवारिक रुपमा समृद्धि छाएको छ। जरा र बीउ खरिदका लागि व्यापारी घरमै पुग्छन्। न बेच्नको लागि चिन्ता नत खेतिमा बढि नै दुख। यो व्यवसाय निकै फाइदाजनक छ। ’  गत बर्ष मात्रै तीन केजी बीउ बेचेको उनी बताउँछन्।  

अतिसको बीउ प्रतिकेजी ५० हजार रुपैयाँ छ। जरा प्रतिकेजी एक हजार दुई सय रुपैयाँ सम्म। जंगलमा पाइने अतिस व्यवसायीक रुपमा खेती गर्न थालेपछि जीविकोपार्जनका लागि कसैसंग हारगुहार गर्नु नपरेको उनी बताउँछन्। उनी त्यो क्षेत्रको पहिलो जडिबुटी किसान हुन् ।अहिले अरुले पनि सिको गर्दै खेतिगर्न थालेका छन्। यो जडिबुटीमा रोग किरा लाग्दैन्, धेरै झंन्झटिलो पनि छैन्। परबहादुर भन्छन्,‘ जडिबुटीको संरक्षण पनि हुने र आयआर्जनमा समेत टेवा पुग्ने भएकोले व्यवसायीक रुपमा खेती गर्न थालिएको हो ।’

जडिबुटी खेतीबारे सुझाव सल्लाह लिनको लागि किसानहरु आउँछन्। कसैले अतिस खेतिका बारेमा चासो राख्छन्। कसैले बीउ किनेर लैजान्छन्। अतिस संरक्षणको तरिकाबारे जानकारी लिन्छन् ।गाउँकै मालिका सामुदायिक बनमा सामुहिक रुपमा अतिस खेती गरिएको छ। त्यो बीउ परबहादुरले उपलब्ध गराएका हुन् । उनले आगामी बर्षमा अतिसको जरा २० क्वीन्टल सम्म उत्पादन गर्ने लक्ष रहेको बताए। सिचाइँ र घेरबार नहुँदा संरक्षणमा समस्या छ, उनले भने, ‘बजार र मुल्यको कुनै समस्य नै छैन् ।’ अतिस नपाक्दै बीउको लागि माग आइरहेको छ।  

पेस नेपालको सहयोगमा शुरु गरिएको अतिस खेती निकै फस्टाएको छ। बीउ र बजारको व्यवस्था समेत पेस नेपालले गरिदिन्थ्यो, उनले भने, ‘अहिले ब्यापारी घरमै पुग्छन्। फोनबाट बीउको माग गर्छन्। जरा राखिदिनको लागि पहिले पेस्की दिन आउँछन्। यहाँको पाटनमा पनि अतिस प्रयाप्त रुपमा पाइन्छ। तर नपाक्दै जरा निकाल्न थालेपछि लोप हुन थालेको छ। कालापहाड जाँदा जाँदा दिक्क भएका उनी विदेश जाने सोचमा थिए। तर अतिस खेतिले घरमै रोजगारी दियो। विदेश जान बाट रोक्यो। आकारमा मुटु जस्तो देखिने उच्च पर्वतीय र तल्लो पर्वतीय क्षेत्रमा पाइने एक प्रकारको जडिबुटी हो, अतिस। हल्का झुस भएको पात, गाढा निलो फूल र प्याजी रंगको नशाहरु हुने यस किसिमको जडिबुटी प्राचीनकालदेखि नै प्रयोगमा आउने गरेको जडिबुटी हो। प्राचीन आयुर्वेदिक शास्त्रको रुपमा रहेको चरक संहिता र सुश्रुत संहिताले यसको औषधि समेत हुने बताइएको छ ।  आजको नागरिक दैनिकमा डीबी बुढाले लेख्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *