स्याऊ खेती गर्ने तरिका
परिचय
दक्षिण पश्चिम एशियामा उत्पति भएको स्याउलाई विश्वमा निकै नै स्वादिलो र स्वस्थकर फलको रुपमा मानिन्छ । हाम्रो शरीरलाई चाहिने भिटामिन, खनिज र अन्य औषधिमय तत्वहरु यस फलमा प्रशस्त मात्रामा पाइन्छ । नेपालका हिमाली क्षेत्रका जिल्लाहरु जस्तै मनाङ, मुस्ताङ, जुम्ला, सोलुखुम्बु, मुगु, हुम्ला, डोल्पा, बैतडी, रसुवा, सिन्धुपाल्चोक, काभ्रे लगायतका ठाउँमा खेती गरिदै आएको छ ।
स्याउको प्रयोग
स्याउलाई विभिन्न किसिमका परिकारहरु जस्तै जाम, जेली, जुस, रक्सी, साइडर आदि बनाउन प्रयोग गरिन्छ ।
जातहरु
स्याउको जातलाई मुख्य गरि ३ भागमा विभाजन गरिएको छ । ती हुन् :
१. धेरै चिसो सहन सक्ने जातहरु: गोल्डेन डेलिसियस, रोयल डेलिसियस, रिच-ए-रेड डेलिसियस, जोनाथान, मकिन्टोस, रोम ब्यूटी, ग्रीनस्मित आदि ।
२. मध्यम चिसो सहन सक्ने जातहरु: कृस्पिन, काट्जा, रेडजुन, कक्सओरेन्ज, पिप्पिन, किङअफ पिप्पिन आदि ।
३. कम चिसो सहन सक्ने जातहरु: एन्ना, ट्रोपिकल ब्यूटी, नाओमि, टाम्मा आदि ।
हावापानी
हिमाली क्षेत्रमा उत्पादन हुने यस फललाई शितोष्ण फलको राजा (king of temperate fruits) भनिन्छ । यसको खेतीको लागि २१.१ देखि २६.७ डिग्री सेल्सियस देखि डिग्री सम्मको तापक्रम उपयुक्त मानिन्छ। जाडो समयमा स्याउलाई ७ डिग्री सेल्सियसको चिलिंग तापक्रम १२००-१५०० घन्टाको लागि आवश्यक पर्दछ। राम्रोसँग बढ्न र अत्याधिक फल लाग्नको लागि वार्षिक रुपमा १००-१२५ से.मी. वर्षा हुनुपर्दछ। सूर्यको प्रत्यक्ष प्रभावसंगै फल ठूलो र राम्रो रंगको हुने हुँदा दक्षिण तिर फर्किएको जमिन यसको लागि उपयुक्त मानिन्छ।
माटो
पर्याप्त जैविक मल साथै ५.५-६.५ पी.एच भएको, पानी नजम्ने दोमट माटो स्याउ खेतीको लागि उपयुक्त मानिन्छ । समथर जमिनमा भने उचित पानी निकासको प्रबन्ध गर्नुपर्दछ।
बिरुवाको प्रसार र रोप्ने तरिका
स्याउको बिरुवाहरु प्राय बडिङ र ग्राफ्टिङ विधिबाट उत्पादन गरिन्छ । सिल्ड बडिङ मे/जुन महिना देखि सेप्टेम्बर सम्ममा गर्नुपर्दछ । त्यस्तै हुइप र टङ्ग ग्राफ्टिङ् भने फेब्रुअरी देखि मार्च सम्ममा गर्नुपर्दछ, जुन समयमा बोट पुरै सुषुप्त अवस्थामा हुन्छ । मालस बकाट्टा, मालस सिकिमेनिस, पिप्पिन, गोल्डेन डेलिसियस, मालिङ्ग आदि जातहरुलाई रुटस्टकको रुपमा प्रयोग गर्न सकिन्छ ।
यसरी उत्पादन भएका बिरुवाहरुलाई रोप्दा, जराको रुपमा प्रयोग गरिएको जातलाई विशेष ध्यान दिनु पर्दछ । यदि रुटस्टक होचो खाले हो भने बिरुवा सार्ने बेलामा २-२.५ मि. टाढा रोप्नु पर्दछ । रुटस्टक ठूलो खाले भए ३-४ मि. को दूरीमा र यदि अझै ठूलो खाले रुटस्टक हो भने ४-६मि.को दूरीमा बिरुवा रोप्नुपर्दछ । बीउबाट उत्पादन गरिएको स्याउको बिरुवालाई भने ६-८ मि.को दुरी कायम गर्नुपर्दछ ।
काँट्छाट
स्याउको बोट जमिन सतहबाट १-१.२ मि. अग्लो भएपछि काँट्छाट गर्नुपर्दछ । बोटमा पलाएका धेरै हाँगाहरु मध्य २-३ वटा मुख्य हाँगा मात्र राखी अरुलाई हटाउनुपर्दछ । अर्को वर्षको जाडोयाममा ती मुख्य हाँगाहरु ५० से.मी. को भएपछी काँटछाँट गर्नुपर्दछ। साथै तेस्रो वर्षको कटाइमा रोगी, सुकेका र चोर हाँगाहरु हटाउनुपर्दछ ।
मलखाद ब्यबस्थापन
विरुवाको राम्रो वृद्धि र विकासको लागि मलखादको प्रयोग अत्यावश्यक छ । बिरुवा रोप्दा खाल्डोमा नै मलको प्रयोग गर्नुपर्दछ । एक वर्ष पुरानो बिरुवाको लागि १० के.जी. गोठेमल, ९० ग्राम नाइट्रोजन, ३० ग्राम फस्फोरस र ६५ ग्राम पोटासको प्रयोग गर्नुपर्दछ । २ वर्ष पुरानो बोटलाई १५ के.जी. गोठेमल, १५० ग्राम नाइट्रोजन, ६०ग्राम फस्फोरस र १३० ग्राम पोटास प्रयोग गर्नुपर्दछ । त्यस्तै १० वर्ष पुरानो बोटलाई ६० के.जी गोठेमल, ६३० ग्राम नाइट्रोजन, ३०० ग्राम फस्फोरस र ६५० ग्राम पोटास प्रयोग गर्नुपर्दछ । र यदि बोट १० वर्ष भन्दा बढी पुरानो छ भने ६०-१०० के.जी. गोठेमल, ७०० ग्राम नाइट्रोजन, ३५० ग्राम फस्पोरस र ७०० ग्राम पोटास आवश्यक पर्दछ ।
गोठेमल, पोटास, फस्फोरसको पूर्ण भाग र नाइट्रोजनको आधा भाग हिमपात हुनु भन्दा पहिले डिसेम्बर महिनामा र बाँकी नाइट्रोजनको आधा भाग फूल फुल्ने समयमा प्रयोग गर्नुपर्दछ ।
सिंचाई
नेपालको सन्दर्भमा स्याउ खेती आकाशेपानीको भरमा नै गरिदै आएको छ । बिरुवा रोपेको १-२ वर्षसम्म पानीको आवश्यकता पर्दछ तर बिरुवा सरिसके पछि भने सिंचाई आवश्यक पर्दैन । तर यदि सिंचाई सुविधा छ भने फूल फुल्ने र फल लाग्ने समयमा सिंचाई गर्दा फलको स्वाद, रङ र साइजको गुणस्तरमा वृद्धि हुन्छ । माटोमा चिस्यान कायम राख्न सल्लाको पात वा परालको छापो हाल्नु पनि उपयुक्त हुन्छ ।
फूल फुल्ने र फल लाग्ने
स्याउको बोटमा मार्च देखि अप्रील महिमामा फूल फुल्न सुरु गर्दछ। पराग राम्रो सँग विकसित हुनको लागि २१.१-२६.७ डि.से. तापक्रम चाहिन्छ । बोटमा धेरै फल लाग्दा, फलको गुणस्तर कम हुने भएकोले बाक्लो फल हटाई एउटा झुप्पामा १-२ फल मात्र राख्नुपर्दछ । जात अनुसार फुल फुलेको ३०-४५ दिनमा बाक्लो फल हटाइ सक्नुपर्दछ । कार्बारायल (७५०-१००० पी.पी.एम.) अथवा एन.ए.ए.(१०-२० पी.पी.एम) प्रयोग गरि रासायनिक तरिकाले बाक्लो फल हटाउन सकिन्छ । साथै एन.ए.ए(१० पी.पी.एम.) फल टिप्नु भन्दा २०-२५ दिन अघि छर्दा फल झर्ने समस्या को पनि समाधान हुन्छ ।
फलको टिपाइ
हरियोबाट पहेलो हरियो रङमा परिणत भएपछि फललाई टिप्न योग्य बुझ्नुपर्दछ । साथै हरियो जातमा भने खाएर नै जाँच गर्न सकिन्छ । सामान्यतया स्याउलाई जुलाई देखि अगस्टमा टिप्ने गरिन्छ ।
स्याउमा लाग्ने रोगकिरा र तिनको व्यवस्थापन
कीराहरु
- सनजोस कत्लेकिरा (San-jose scale)
यो कीराको लार्भा तथा माउले बोटको पात तथा कान्डबाट रस चुस्दछन् । यसले बढ्दै गरेका फललाई पनि आक्रमण गर्दछन्।
व्यवस्थापन
रोगी हाँगा हटाउने, कत्ले कीरा नभएका सामान प्रयोग गर्ने ।
– नर्सरी बेडमा थाइमेट १०% ग्राम (फोरेट) लाई १ के.जी. प्रति रोपनीको दरले प्रयोग गर्ने ।
– प्रकोप बढी भए कीरानाशक विषादी जस्तै रोजर ३०% EC (डाइमिथोयेट) लाई २ मि.लि. प्रति लिटर पानीमा मिसाइ प्रयोग गर्ने ।
२.स्याउको लाही (Wooly apple aphid)
यसले जमिन मुनिको जरा, पात र काण्डमा आक्रमण गर्दछ।यसको प्रकोप बढी भयो भने कान्डमा गाँठा पर्ने, जरामा असर गर्ने र बोट नबढ्ने समस्या हुन्छ।
व्यवस्थापन
– रोग लागेका, गाँठा परेका, सुकेका हाँगा र पात हटाउने
– बिरुवा रोप्नु अघि बिरुवाको जरालाई ०.१% फेनिट्रोथायन को घोलमा उपचार गर्ने ।
३.पातबेरुवा (Leaf rollers)
यो कीराले अप्रिल देखि सेप्टेम्बर महिनामा पलाएका कलिला पात खाने गर्दछ। यसले फलमा नराम्रो दाग लगाउछ ।
व्यवस्थापन
-१ मि.लि. मालाथियन लाई प्रती लिटर पानीमा मिसाइ जुन महिनामा छर्कने।
४. झुसिल्किरा
यसले कमला पात खाने गर्दछ। पातको मुनिपट्टि यसको अन्डा देख्न सकिन्छ।
व्यवस्थापन
– यसको रोकथामको लागि रोजरको प्रयोग गर्न सकिन्छ ।
रोगहरु
- स्याउमा लाग्ने दाग (Apple scab)
यो रोग लागेमा नयाँ पातमा हल्का खैरा दागहरु देखा पर्दछन् र पछि पुरै पात सुकेर मर्दछ। फलमा पनि दाग देखिन्छ। धेरै पानी परेमा यो रोग छिटो फैलिने गर्दछ ।
व्यवस्थापन
– यो रोग नियन्त्रण को लागि पात पलाउने र फल फल्ने बेलामा, बोर्डेक्स मिक्सचर (४:४:५०) को अनुपात मा बोटभरी छर्कने ।
– डायथेन एम४५, लाई ३ पटक छर्कने ।
२.खराने रोग (Powdery mildew)
यो रोग लागेपछी पात, फल र कलिला कान्डमा खरानी लागे जस्तो देखिन्छ र अन्तमा बोटनै मर्न सक्दछ।
व्यवस्थापन
– काँटछाँट राम्रो सँग गर्ने, प्रकोप बढी भए सल्फर लाई ३०० ग्राम प्रती लिटर पानीमा मिसाइ ७-१४ दिनको फरकमा छर्कने ।
३.सेतो जरा कुहिने रोग (White root rot)
यो रोग लागेपछि पात पहेलिने, ढिलो बड्ने आदि सम्स्या आउँदछन् ।
व्यवस्थापन
– बगैचामा पानी जम्न नदिने
– बोर्डेक्स मिक्सरको प्रयोग गर्ने।
४. बोक्रामा गुलाबी देखिने रोग (Pink disease)
यो रोग लागेपछी बोक्रामा गुलाबी दाग देखा पर्दछ।ती दागहरु पछि बढेर ठूला हुन्छन।पछि पुरै बोक्रा सुकेर बोट नै मर्दछ।
व्यवस्थापन
– बोर्डेक्स मिक्स्चर प्रयोग गर्ने ।
५.बोक्रामा कालो देखिने रोग (Stem black disease)
यो रोग लागेमा रोगले आक्रमण गरेको ठाउँ पुरै कालो हुन्छ । काँटछाँट गरेको भागबाट ढुसी छिर्ने भएकोले नियन्त्रणको लागि बोर्डेक्स मिक्स्चरको प्रयोग गर्नुपर्दछ ।