मंगलबार, ०४ बैसाख २०८१

फस्टाउँदै गरेको स्ट्रबेरी खेती

विभिन्न जातका स्ट्रबेरी वा भुइँ काफल संसारका विभिन्न स्थानहरुमा उत्पति भएको पाइन्छ । कतिपय जातहरुको उत्पत्ति युरोप, जापान, चीन र दक्षिण अमेरिकामा भएको उल्लेख छ  । तथापी यसको उत्पत्ति अमेरिकामा भएको मानिन्छ । नेपालमा पनि भुइँकाफलका जंगली जातहरु पहाडी क्षेत्रमा पाइन्छन् र कौवा काफलका नामले चिनिन्छ । यसको खेती १८ औ शताब्दी देखि फ्रान्समा सुरु गरिएको र हाल विश्वका धेरै देशहरुमा गरिन्छ । यसको व्यवसायिक खेती गरिने प्रमुख देशहरुमा संयुक्त राज्य अमेरिका, स्पेन, टर्की, मेक्सिको प्रमुख छन् । नेपालमा सन् १९८५ देखि भुइँकाफलको खेती सुरु भएको पाइन्छ  । हाल ककनी (नुवाकोट), रसुवा, धादिंग, पर्बत, कास्की, प्युठान र पाल्पामा केही मात्रामा यसको खेती गरिन्छ  ।

पौष्टिक महत्व तथा प्रयोग

भुइँ काफलमा औषधिय गुण हुन्छ । स्ट्रबेरी फल खानाले पिसाब सम्बन्धिको रोगलाई निको पार्न सहयोग पुग्दछ । यसको ताजा फल खाने गर्नाले धेरै पटक पिसाब लागि रहने रोगलाई रोकथाम गर्दछ । फल प्रशोधन गरि प्याकजिंग गरेर बिक्रि गर्न सकिन्छ । जाम, रस र सर्बत बनाएर सेवन गर्न पनि सकिन्छ । तेस्तै आइसक्रिमलाई बास्नादार बनाउन पनि स्ट्रबेरी प्रयोग गर्न सकिन्छ । यस फलमा प्रशस्त कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन सि, भिटामिन के, पोटासियम, फस्फोरस, क्याल्सियम, म्याग्नेसियम, एन्टिअक्सिदेन्टहरु र ओमेगा-३ फेटिएसिड पाइन्छ । यसको फलमा प्रशस्त मात्रामा पोटासियम, ओमेगा-३- फेटिएसिड पाइने हुनाले मुटु रोगी र ब्लडप्रेसर हुने व्यक्तिको लागि राम्रो मानिन्छ ।

जलबायु तथा माटो

यो शितोषण प्रदेशीय बाली हो तर समशितोषण हावापानीमा पनि यसको खेती गर्न सकिन्छ । नेपालको सन्दर्भमा यसलाई समुन्द्री सतह देखि १००० देखि २००० मिटरको उचाई भएको पारिला ठाउँमा एसको खेती गर्न सकिन्छ । यो छोटो दिने (Short-day) बिरुवा भएकोले यसलाई फूल फुल्न न्यूनतम १० दिन सम्म १४ देखि १६ घण्टा अध्यारो आवश्यक पर्दछ । सुक्खा (पानी धेरै नपर्ने ) र चिसो हावापानी भएको राम्रो संग घाम लाग्ने सिचाई र यातायातको राम्रो सुबिधा भएको स्थान व्यवसायिक रुपमा स्ट्रबेरी खेती गर्न उपयुक्त हुन्छ । बोटको वृद्धि र विकासका लागि २२ देखि २५ डिग्री सेल्सियस तापक्रम उपयुक्त हुन्छ । तापक्रम १० डिग्री सेल्सियस भन्दा बढी थालेपछि ‘रनर’ निस्कन थाल्दछ ।

स्ट्रबेरी प्राय सबै किसिमको माटोमा हुन सक्ने भएपनि प्रशस्त प्रांगारिक प्रदार्थ भएको मलिलो तथा उत्पादनशील हलुका पानि नजम्ने र चिस्यान अडिने खालको माटो सर्वोत्तम हुन्छ । माटोको Ph ५.५ – ६.५ राम्रो हुन्छ । यसको खेती गर्नका लागि प्रशस्त सिचाईको आवश्यकता पर्दछ ।

जातहरु

भुइँ काफलको वैज्ञानिक नाम Fragaria ananassa हो र Rosaceae परिवार अन्तर्गत पर्दछ । नेपालमा प्रचलित जातहरुमा न्योहो, ओनो, प्रिमियर, नर्थवेस्ट, रेडकार्ड, रोयल सोमिरिन, आला ब्रिटान, न्योरो, ओफ्रा, कमासमारोसा, ब्लेक, मोर, ओना आदि छन् । ककनी र गोदावारीमा विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुबाट गरेको अनुसन्धान र परिक्षण भईरहेको छ ।

प्रसारण

भुइँकाफलमा साना फाल्ने हाँगाहरुका साथ साथै तेस्रा जमिनतिर सतहमा वृद्धि हुने लहरे हाँगाहरुको विकास हुन्छ यि हाँगालाई रनर्स (runners) भन्दछन् । यी रनर्सहरुले प्रत्येक आँख्लामा जरा र कोपिलाबाट नयाँ बिरुवा उत्पादन गर्दछन् । यस प्रकार एउटै रनरबाट एकै पटकमा धेरै बिरुवा उत्पादन गर्न सकिन्छ । रनरबाट बिरुवा उत्पादन गर्दा रनरका आँख्लालाई सानो अंकुसे बनाइ थोरै माटोले पुर्नु पर्दछ र पुन अगाडी बढ्दै अर्को आँख्लालाई पनि तेसै गरि माटोले छोप्नु पर्दछ । यस प्रकार एउटा रनरबाट ४-५ वटा बिरुवाको विकास भएपछि रनरबाट काटेर अलग गर्नुपर्दछ । एउटा रनरबाट बिरुवा बनाउँदा साना प्लास्टिकका ट्रेमा कम्पोस्ट मिलाएको माटो वा अन्य माध्यम जस्तै कोकोपिट आदिमा प्रत्येक आँख्लालाई तेसैमा मिलाएर रोपी बिरुवा उत्पादन गर्न सकिन्छ । प्रायजसो जेठ असार महिनामा बढी ‘रनर्स’को उत्पादन हुन्छ र ब्याडमा सारेर बेर्ना तयार पारिन्छ । भुइँकाफललाई बीउबाट पनि प्रसारण गर्न सकिन्छ तर प्रायजसो भुइँकाफलका जातहरु बर्णशंकर भएकोले बीउबाट प्रशारण गरिएको बिरुवाले राम्रो फल दिदैन ।

फोटो : भिलेज स्क्वायर

सार्ने समय

स्थान तथा हावापानी अनुसार भुइँ काफल रोप्ने समय निम्न प्रकारका छन्  ।

                क्षेत्र           लगाउने समय
तराई, भित्री मधेश, बेशी र खोच       भदौ – असोज
मध्य पहाड तथा उपत्यका       माघ – फाल्गुन
उच्च पहाड       चैत्र – वैशाख

रोप्ने तरिका

बिरुवा लगाउनु अघि नै माटोलाई राम्रोसंग २/३ पटक खनजोत गरी खुकुलो गराइ झारपात हटाउनु पर्दछ र युरिया बाहेक सबै मललाई माटोमा राम्रोसंग मिलाउनुपर्दछ । एक हेक्टर क्षेत्रफलको लागि २२.५ टन कम्पोस्ट मल, १६० केजी युरिया, १००-१२० के जी डीएपी, १००-१५० केजी पोटास मल आवश्यक पर्दछ । आधा भाग युरिया बिरुवा रोपेको ३ हप्ता पछि र बाँकी आधा भागमा फूल फुल्ने समयमा दिनुपर्दछ । युरिया २ प्रतिशत, जिंक सल्फेट ०.५ प्रतिशत, क्याल्सियम सल्फेट ०.५ प्रतिशत र बोरिक एसिड ०.२ प्रतिशत पातमा छर्नाले उत्पादनमा वृद्धि हुन्छ । स्ट्रबेरीका फलहरु नांगा हुने फलमा माटो टाँसिने हुँदा सफा र गुणस्तरीय फल उत्पादनका लागि नर्सरीको जस्तो ब्याड बनाएर प्लास्टिक मल्चिंग गरी फल उत्पादन गर्नुपर्दछ  । यसको निमित्त १ मिटर चौडा, ६/१० सेमि उचाई ब्याड बनाइ बिरुवा रोप्नुपर्दछ  । बिरुवालाई एक लाइन देखि अर्को लाइनको दूरीमा ४० सेमि र एक बिरुवा देखि अर्को बिरुवाको दूरी ३०-४५ सेमि लगाउन पर्दछ  । सामान्यतया ब्याडमा खर परालको छापो दिएर पनि लगाउन सकिन्छ । फलमा माटो लाग्न नदिन मल्चिंग अनिवार्य छ ।

सिचाई

भुइँ काफलका जराहरु जमिनको सतह नजिकै हुने हुँदा सुख्खा भएको अवस्थामा जराहरुले माटोबाट खाद्यतत्व लिन असुविधा हुन्छ । फल लागेको समयमा पानि अभाव भएमा फलको राम्रो वृद्धि हुन नपाई फल झर्ने समस्या हुन्छ । मल्चिंग गरेर पनि चिस्यान कायम राख्न सकिन्छ । खाद्यतत्व मिसाएर दिने थोपा सिंचाई दिने उत्तम प्रबिधि हो ।

काँटछाँट र तालिम

भुइँ काफलमा प्रशस्त मात्रामा रनर्सहरु विकास हुन्छन । रनरहरुमा फल नलाग्ने त्यतिकै वृद्धि भईरहने हुँदा बढी खाद्यतत्व खपत गर्न र फल फल्ने र फलको विकासमा प्रतिकूल प्रभाव पार्दछन । तसर्थ अनावश्यक रनरहरुलाई समय समयमा हटाउनुपर्दछ । स्ट्रबेरीको बिरुवालाई विभिन्न प्रकारले व्यवस्थित गर्न सकिन्छ ।

१. एक मूल प्रणाली : पहिला रोपेको मूल मात्र राखी बाँकी रनर सबै उखलेर हटाइदिनु पर्दछ ।

२. चार मूल प्रणाली : पहिला रोपेको मूल बोटको ब्याडबाट आएका रनरहरु मध्ये बढीमा ४ वटा रनरहरु राखेर (उचित दूरीमा) बाँकी सबै रनरहरु उखलेर नर्सरीमा सार्नु पर्दछ ।

३. बहुमुल प्रणाली : यस तरिकामा पहिला रोपेको बोटबाट आएका सम्पूर्ण रनरहरु मध्ये एकएक फिटको दूरीमा बिरुवा कायम गरि बाँकी सबै रनरहरु उखलेर हटाइ दिनुपर्छ ।

फल टिपाई

वानस्पतिक भाषामा भन्नुपर्दा स्ट्रबेरी फल एकत्रित किसिमको फल हो । ठिक्क पाकेको फल रातो, सुन्तले देखि लिएर जात अनुसार बैजनी रंगको पनि हुन्छ । फल नरम र धेरै दिन सम्म भण्डारण गर्न नसकिने किसिमको हुन्छ । फल टिप्नको लागि तापक्रम धेरै नभएको बेला पारी बिहान या बेलुका ३-४ बजे तिर टिप्नुपर्छ । फल टिप्दा फलको भेट्नालाई नंगले चिमोटेर फललाई चोट नलाईकन टिप्नुपर्दछ । फलको भेट्नासहित टिपाई गरिएन भने टाढाको बजारमा पुर्याई बिक्री वितरण गर्न सकिदैन । फल पाक्न थालेपछि दिनमा चराचुरुंगीले नोक्सान गर्ने भएकोले चार धपाउने मान्छे राख्नुपर्दछ । फल पाक्न थालेपछि हरेक २/३ दिनमा पुन टिप्ने बेला भई नै रहन्छ । भुइँ काफल फुलेको करिब ३०/४५ दिन भित्रमा पाक्दछ । फलको पूर्ण विकास भएको १५-२० दिन पछि फल टिप्न लायक भएर पाक्दछ ।

उत्पादन

स्ट्रबेरी रोपेको ५/७ महिनापछि उत्पादन लिने अवस्थामा पुग्दछ । सरदर उत्पादन १२-१५ मेट्रिक टन प्रति हेक्टर हुन्छ ।

सन्दर्भ सामाग्रीहरु

गौतम दुर्गामणि र बुर्लाकोटी प्रज्ञा ।२०७४ ।फलफूल, औद्योगिक बाली तथा पोष्टहार्भेस्ट प्रविधि, हेरिटेज पब्लिशर्स एंड डिस्ट्रब्युर्टस प्रा.लि, भोटाहिटी, काठमाडौ, २७२–२७४ ।

बराल श्रीलाल । भुइँ ऐसेलु स्ट्रबेरी । कृषि दुई मासिक । कृषि सूचना तथा संचार केन्द्र । हरिहरभवन , ललितपुर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित