कन्ये च्याउको खेती यसरी गरौँ !
परिचय
च्याउ एक किसिमको ढुसी हो । विभिन्न प्रकारका च्याउहरु वनजंगलमा प्रशस्तै मात्रामा पाइन्छन् । च्याउका लहराहरु अर्थात् माइसेलियमको माध्यमबाट ढुसी फैलिएर च्याउको प्रसार हुने गर्दछ । नेपालमा करिब ७०० प्रजातिका च्याउहरु पाइन्छन् । व्यावसायिक रुपले नेपालमा गोब्रे च्याउ, कन्ये च्याउ, रातो च्याउ र सेतो च्याउको खेती गर्दै आइएको छ ।
कन्ये च्याउ खेतीको लागि टहराको निर्माण
टहराको निर्माण गर्न बाँसको प्रयोग गर्न सकिन्छ । सर्वप्रथम टहरा बनाउने उचित ठाउँको रेखांकन गरी भुइँको झारहरु उखेल्ने र जमिनलाई सम्माउने काम गर्नुपर्दछ । टहरा बनाइसकेपछि सूर्यको प्रकाश रोक्न र अँध्यारोपन कायम राख्नको लागि टहरालाई कालो प्लास्टिकले छोप्नु पर्दछ । प्लास्टिकको छानो माथि जुट, खर, पराल आदि राख्दा तापक्रम र सापेक्षित आर्द्रतामा सन्तुलन ल्याउन मद्धत गर्दछ । च्याउका पोकाहरु झुण्डाउनको लागि १ नम्बरी रस्सिको प्रयोग गरी बलोबाट भुईंसम्म पुग्ने गरि लाइन बनाउनु पर्दछ ।
परालको छनोट, तयारी र बफाउने तरिका
च्याउ खेतीको लागि पराल ढुसी रहित, पूर्ण रुपमा सुकेको र सफा हुनुपर्दछ । उक्त पराललाई २ देखि ३ इन्चको टुक्रामा काटेर २ देखि ३ घण्टासम्म सफा पानीमा भिजाउनुपर्दछ । भिजाएको पराललाई निकालेर पानी तैराउनको निम्ति ४ देखि ५ घण्टासम्म चाङ्माथि राख्नु पर्दछ ।
यसरी सफा गरिएको पराललाई अब बफाउनुपर्दछ । पराललाई बफाउँदा परालमा भएका हानिकारक रोग, कीरा आदि नष्ट गर्नमा मद्धत मिल्दछ । सामान्यतया पराल बफाउनको लागि फलामको ड्रमको प्रयोग गर्न सकिन्छ र सोही ड्रमको बिर्को काटी त्यसैलाई छेडेर जाली जस्तो बनाउन सकिन्छ । त्यसपछि ड्रममा १३ देखि १४ लिटर पानी राख्नुपर्दछ । ड्रमभित्र अट्नी गरेर ६ देखि ८ इन्च लामो खुट्टा भएको बलियो ओदान बनाई ओदान माथि जाली राखी तयार गरिएको पराल राख्नुपर्दछ । पूर्ण रुपमा ड्रममा पराल भरिसकेपछि प्लास्टिकको प्रयोग गरि ड्रमको मुख हावा नछिर्ने गरि बाँधेर बन्द गर्नुपर्दछ । प्लास्टिकको बीचमा पर्ने गरेर सानो प्वाल पनि बनाउनुपर्दछ । पराललाई ड्रममा ३० मिनेटसम्म बफाइ उक्त पराललाई निकालेर सफा ठाउँमा राखि चिसो हुन दिनुपर्दछ ।
उचित बिउको छनोट, पोकामा बिउ हाल्ने र पोका झुण्डाउने तरिका
बिउको छनोट गर्दा न धेरै छिप्पिएको न धेरै कमलो ठिक्क किसिमको बिउ छान्नुपर्दछ । तातै परालमा च्याउको बिउ राखियो भने ढुसी मर्ने हुँदा सेलाएको परालमा मात्र बिउ राख्नुपर्दछ ।
च्याउको पोका बनाउँदा पहिले उपयुक्त प्लास्टिकको छनोट गर्नुपर्दछ । १६x२६ र १८x२४ इन्चका प्लास्टिक उचित हुन्छन् । पोका बनाउँदा सुरुमा अलिकति पराल र अलिकति बिउ एकै ठाउँमा मोलेर प्लास्टिकमा राख्नुपर्दछ र ३ इन्च पराल राखेपछि मात्र अर्को तहको बिउ राख्नुपर्दछ । बिउ राख्दा छेउछेउमा पर्नेगरि वरिपरी हाले ढुसी छिटो फैलिन्छ । २०० ग्रामको बिउको पोकालाई ७ तह हुनेगरी पराल सकेसम्म खाँदेर एउटा पोकाको तौल औसतमा ७ देखि ८ किलो सम्मको बनाउनुपर्दछ । तयार पोकामा हावा संचारको निम्ति सियोहरु मिलाएर बनाएको औजारद्वारा स-साना छिद्रहरु पार्नुपर्दछ ।
तयार भएका पोकाहरु झुण्डाउँदा एउटा पोकाले अर्को पोकालाई छुनुहुँदैन र एउटा लाइनको पोकाहरुले अर्को लाइनको पोकाहरुलाई पनि छुनुहुँदैन । सुरुमा बलोमा झुन्डिएको रस्सीको फेदमा एउटा पोका राखी सुतरीको डोरी बलोको नजिक बाँध्नुपर्दछ । पहिलो पोका भन्दा २ इन्च माथि अर्को पोका राख्ने र त्यसमाथि अर्को पोका गर्दै लाइन तयार गर्न सकिन्छ ।
सम्पूर्ण पोकाहरु झुण्डाइसकेपछि भुइँ सफा गरि चुन राख्दा माटोमा रहेको हानिकारक तत्वहरुलाई फैलिनबाट रोक्दछ । मुसाको समस्याको लागि भने लिसोको प्रयोग गर्न सकिन्छ ।
च्याउको वृद्धि विकासमा ध्यान दिनुपर्ने कुराहरु
- पोकाहरु झुण्डाइसके पछि टहरालाई चारैतिरबाट पूर्ण रुपमा बन्द गर्नुपर्दछ,
- ढुसीको निरन्तर वृद्धि एवम् विकासको अवलोकन गर्नुपर्दछ,
- प्लास्टिक बाहिर ढुसी देखियो भने तताएर सेलाएको सफा पानीले पोकालाई बाहिरबाट कपासको प्रयोग गरि सफा गर्नु पर्दछ,
- ढुसी फैलाउनको लागि च्याउलाई उपयुक्त हुने तापक्रम १९ देखि २३ डिग्री सेन्ट्रीग्रेड र सापेक्षित आद्रता ८४ प्रतिशत वा सोभन्दा माथि कायम राख्नु पर्दछ ।
प्लास्टिक काट्ने समय र तरिका
प्लास्टिक काट्दा पनि उमालेको पानी सेलाएर पोका सफा गरेर मात्र काट्नुपर्दछ । सामान्यत गर्मीको मौसममा १६ औं दिनमा प्लास्टिक काट्न उपयुक्त मानिन्छ । पोकामा साना-साना नौनी घिउका जस्ता डल्ला देखिएपछि प्लास्टिक काट्न उपयुक्त समय भनेर बुझ्नुपर्दछ । प्लास्टिक काट्दा पुरै प्लास्टिक हटाइहाल्नु हुँदैन । बरु थोरै मात्रामा प्लास्टिक काटेर प्लास्टिकलाई काटेको ठाउँमा फर्काइदिनुपर्छ । ढुसी मज्जाले फैलेको छैन भने त्यस्तो पोकामा साना-साना २-३ ओटा चिरा बनाउनुपर्दछ ।
सिंचाई
तापक्रम हेरेर च्याउ खेतीको लागि सिंचाई पनि आवश्यक पर्दछ । सिंचाई पाइप वा स्प्रेयरको प्रयोग गरि गर्मि मौसममा दिनमा २ देखि ३ पटकसम्म सिंचाई गर्नुपर्दछ । च्याउको पोकासँगै तल भुइँलाई पनि राम्ररी भिजाउनुपर्दछ । बेमौसमी च्याउ खेती गर्दा अत्याधिक गर्मि भएमा दिनमा ३-४ पटक जुटको छानोलाई समेत भिजाउनुपर्दछ ।
च्याउ टिप्ने समय
च्याउका छाताहरु पूर्ण रुपमा फक्रिएपछि मात्र टिप्नुपर्दछ । सुरु-सुरुमा च्याउको टुसा निस्केको दुई दिनमै च्याउ टिप्न योग्य हुन्छ भने पछि ३ देखि ४ दिनमा मात्र टिप्न योग्य हुन्छ । टिप्दा च्याउको गाजलाइ हल्का घुमाउदै परालसँगै फेदैबाट निकाल्नुपर्दछ । यसरी एकै गाजबाट १ के.जी.र सोभन्दा बढी तौलको च्याउ समेत फलाउन सकिन्छ ।
च्याउमा लाग्ने रोग,कीरा र व्यवस्थापन
१.भुसुना
च्याउमा विभिन्न किसिमका भुसुनाहरु लाग्दछन् । जस्तै फोरिड, सिसिड नाम गरेका भुसुनाले च्याउमा औसा कीरा पारेर एकदमै नोक्सान गर्दछन् । यदि च्याउ टिप्ने समय भन्दा अलि कति पनि ढिलो भयो भने औसाले पुरै च्याउको छाता नै नष्ट गर्दछ । त्यसैले च्याउलाई समयमै टिपेर सरसफाईमा एकदमै ध्यान दिनुपर्दछ।
२.स्प्रिंग टेल (Springtail)
स्प्रिंग टेलको लार्भाले च्याउको ढुसीलाई नै खाएर नस्ट पार्दछ । त्यसैले, च्याउ राखेको ठाउँमा बेलाबेला सफा गर्नुपर्दछ।
३.ट्राइकोडर्मा (Trichoderma)
ट्राइकोडर्मा नामक ढुसीले निकै ठूलो हानी गर्दछ । पोकाहरु सेतो हुनुको साटो हरियो र अलि कालो रंगमा परिणत भयो भने ट्राइकोडर्मा लागेको हो भनेर बुझ्नुपर्दछ । यो एकदमै छिटो फैलिने हुँदा देख्ना साथ फाल्नुपर्दछ । यो समस्या टहरा भित्र हावाको बहन र प्रकाश कम हुन गएमा र साथै कार्बोनडाइअक्साइडको मात्रा बढी भएमा देखिन्छ । त्यसैले यसको व्यवस्थापनको लागि कोठामा प्रकाशका साथै दोहोरो हावाको संचालन हुने वातावरण मिलाउनु पर्छ ।
४. मुसा
च्याउको बिउलाई मुसाले निकै मन पराउने हुनाले च्याउ खेती गर्दा मुसाले निकै दुख दिने गर्छ । मुसाको समस्या कम गर्नको लागि दैनिक निरीक्षण गरि मुसाको लागि पासोको रुपमा मुसाको खोर वा लिसोको प्रयोग गर्न सकिन्छ ।