धानमा लाग्ने गवारो यसरी नियन्त्रण गर्न सकिन्छ

गवारो धानमा लाग्ने एक प्रमुख शत्रुजीव हो, किरा हो | धानमा गाँज आउने देखि लिएर फुल फुल्ने वा बोटको वयस्क अवस्था सम्म यसले आक्रमण गरी वर्षेनी ठुलो क्षति पुर्याउने गर्छ | खेतमा जहिले पनि भेटाउन सकिने यस किरा किसान संग निकै परिचित समेत बनिसकेको छ | यो रातीमा क्रियाशील हुने एक किसिमको पुतली हो | यसको वैज्ञानिक नाम Scirpophaga incertulas हो |
यसको अण्डा : क्रिम जस्तै सेतो, अन्डाकार र स्केल भएको, एकै ठाउँ थुप्रिएको हुने,
लार्भा : हल्का पहेलो संग टाउकोमा खैरो देखि कालो रंगको बनावटमा देख्न सकिने,
प्युपा : काण्ड भित्र ‘कोकुन’मा प्युपा हुने,
वयस्क : पुतली
धानमा लाग्ने गवारो किराका मुख्य ६ ओटा प्रकार छन् | पहेलो गवारो, सेतो, छिर्के, गोल्ड-फ्रिन्ज्ड, कालो टाउके छिर्के र कलेजी रंगको गरि ६ किसिमका गवारे किराले धानमा आक्रमण गर्छन् | यी विभिन्न गवारे किराहरु मध्ये कलेजी रंगका गवारे किरा त्यति बढी आक्रमक पाईंदैन जति अरु ५ प्रकारका गवारो आक्रमक छन् |
धानको बिरुवा/बेर्ना अवस्था देखि परिपक्व अवस्था सम्मको धानमा गवारोले आक्रमण गर्न सक्छ | यसका लार्भाले धानको गांजमा पसेर आक्रमण गर्न थालेपछि धानको गुदी मार्दै जान्छ | धानको बोटको सुरुवाती विकास हुने क्रममा गवारोले आक्रमण गरेमा यसलाई मृत गुबो (Dead Heart) भनिन्छ भने फुल फुल्ने बेला/ विरुवा प्रजनन प्रक्रियामा असंग्लग्न हुने बेलामा लार्भाले आक्रमण गर्दा सेतो बाला (white head) बनाईदिन्छ |
धानका नयाँ/कलिला बोटको अवस्थामा गवारोले फेदबाट आक्रमण गर्दै जान्छ बहने बोट पुरानो हुँदै गएपछि बोटको टुप्पोबाट खाँदै जान्छ |
पहेलो गवारे किरा : अलि बढी पानीको तह भएको ठाउँमा लगाईएको धानमा आक्रमण गर्ने गवारे किरा भनेको पहेलो गवारे हो | निरन्तर पानी लाग्ने खेतमा यस खाले गवारोको संक्रमण अलि उच्च हुन्छ |
छिर्के गवारे किरा : अलि टाडी खेतहरूमा यस खाले छिर्के गवारेको संक्रमण उच्च हुन्छ | पानी एकदम कम उपलब्ध हुने ठाउँमा यस खाले छिर्के गवारे किराको प्रकोप उच्च पाईन्छ |
कलेजी रंगे गवारे किरा : यो गवारो अलि उच्च ठाउँका खेत/ घैया धान लगाउने ठाउँहरुमा लाग्ने गर्छ | यो किरा विशेषगरि उखु र घाँस आसपासबाट धानमा फैलिने गवारो हो |
गवारो लागेको कसरी थाहा पाउने ?
- धानको कलिलो अवस्थामा गवारोले आक्रमण गरेको छ भने त्यो बोट वा गांजको धानलाई सजिलै उखेल्न सकिने हुन्छ | बोट नै मुर्झाए जस्तो देखिन्छ |
- हुर्कदै बढ्दै गरेका धानका बोटहरुमा अलि पछिल्लो समयमा गवारोको आक्रमण भएमा धानको टुप्पो/पोसाउने भाग (बाला लाग्ने भाग) विस्तारै सेतो सेतो हुँदै जान्छ र धानमा दाना पर्दैन |
- धानको काण्ड/गांजमा मसिना प्वाल जस्ता भागहरु देख्न सकिन्छ |
- गवारोले आक्रमण गरेको हो/होईन जाँच्न एक दुई ओटा बोट उखेलेर हेर्दा भित्र पट्टि केहि बिग्रे जस्तो/ कुहेको वस्तु जस्तो देखिएमा पनि गवारो लागेको बुझिन्छ |
कहिलेकाहीं ‘मृत गुबो’, ‘सेतो बाला’ जस्ता गवारोले गर्दा देखिने समस्या जस्तै समस्या मुसाले धान खाएर, धानमा मरुवा, धानमा लाग्ने कालो पतेरोले गर्दा पनि देखिन्छ |
खासगरी गवारो अलि ढिला गरि धान रोपाई गरिएमा लाग्ने सम्भावना बढी हुन्छ भने आजभोली यसले जति नै बेला पनि धानमा आक्रमण गरेर धानमा ठुलो क्षति पुर्याउछ |
गवारोका विभिन्न किराहरुले सुरुव्को अवस्थामा २०% देखि अन्तिम अवस्था तिर ८०% सम्म बालीमा क्षति पुर्याउन सक्छन् |
कसरी गर्ने गवारो नियन्त्रण ?
- खेतमा प्रशस्त मात्रामा पानीको अभाव नहुने गरि पानी पठाउने गर्न सकेमा यसलाई केहि हदसम्म नियन्त्रण गर्न सकिन्छ | खेतमा पानीले धानलाई डुबाईदिईराखेमा गवारोका अण्डा पानीमा भिजेर खेर जान्छन् |
- गवारोबाट बच्न नाईट्रोजनको प्रयोग ‘स्पिलिट’ तरिकाले सिफारिस गरिएको दर र समयमा प्रयोग गर्नुपर्ने हुन्छ |
- धान काटेपछि बाँकी रहेका धानका जरा/ठुटाहरु निकालेर जलाईदिने,
- प्रकाशको पासो (light trap) बनाएर वयस्क पुतलीलाई आकर्षण गरि मार्न सकिन्छ |
- आलीमा भट्टमास लगाएर पनि गवारो नियन्त्रण गर्न सकिन्छ |
- त्यस्तै गरि ट्राईकोग्रामा नामक परजीवी किरा रोपाई गरेको ३/४ हप्तापछि ५० हजार देखि १ लाख प्रति हेक्टरको दरमा छाड्ने गर्नाले गवारोको जैविक प्रविधिबाट नियन्त्रण गर्न सकिन्छ | यसरी छर्दा ट्राईकोग्रामा १०/१० दिनको अन्तरालमा ३/४ पटक छर्नुपर्छ |
- त्यस्तै गरि, अरु जैविक प्रविधिमा ब्याक्टेरिया जन्य जैविक विषादी ठुरिन्जियाँसिस ३ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्कनुपर्छ |
- लामा सिंगे फट्याङ्ग्राको प्रयोग गरि मित्रजीवको माध्यमले गवारोको व्यवस्थापन गर्न सकिन्छ |
सकेसम्म जैविक प्रविधि र प्रारंगारिक विधिको प्रयोग गर्न सकेमा मानव स्वास्थ्य र माटो, फाईदाजनक किरा, सुक्ष्म जीवलाई समेत फाईदा पुग्छ | यदि ठूलो परिणाममा नोक्सानी हुदैछ भने विषादीको प्रयोग गरेर अरु बढी नोक्सानीलाई रोक्न सकिन्छ |
कुन-कुन विषादी प्रयोग गर्ने गवारो नियन्त्रण गर्न ?
फ्युराडन नामको विषादी १०/१२ केजी/विघा दरले खेतमा प्रयोग गर्दा चारै तिरबाट पानीको स्रोत सुकाएर पुरै सुख्खा अवस्थामा यस विषादीको प्रयोग गरेर गवारो नियन्त्रण गर्न सकिन्छ | विषादी छरेपछी कम्तिमा २/३ हप्ता पानी सुकाएर छोड्नु पर्छ |
फुराडन नामको विषादीको सट्टा थायोडन नामको विषादी झोल पनि २/३ पटक छरेर गवारो नियन्त्रण गर्न सकिन्छ | १.५ मिलिलिटर विषादी १ लिटर पानीमा मिसाएर झोल बनाई धान खेतको चारैतिर एकनासले स्प्रे गर्दा गवारो नियन्त्रण गर्न सकिन्छ |
सिंचित क्षेत्रमा गवारे किरा व्यवस्थापनको लागि थायोड़ीकार्व ७५% डब्लु.पी. (Thiodicarb 75% WP) २ ग्राम प्रति मिलिलिटर पानीमा मिलाई पानी नपरेको बेलामा स्टिकर मिसाई छर्किनु पर्छ |
कीराको नियन्त्रणको लागि क्लोरोपाइरिफस नामक विषादी १ मि.लि. १ लिटर पानीमा मिसाइ स्प्रे गरेर पनि गवारो नियन्त्रण गर्न सकिन्छ |
थिमेट १० प्रतिशत प्रति हेक्टरकादरले समान रुपले छरेर प्रयोग गर्नु पर्दछ |