शुक्रबार, ०७ बैसाख २०८१

लकडाउनमा कृषकहरुलाई छैन फुर्सद

Share via:

 

ठूलो हुलाके फाँटमा व्यस्त छन् गुल्मी धुर्कोट गाउँपालिका– ५ का भागीरथ सेजवाल । उनीसहित दुई हल गोरु र बल्लबल्ल खोजेका खेतला लकडाउनबीच चैते धानको अन्तिम रोपाइँमा व्यस्त छन् ।

‘कोरोना भनेर पर्खँदा पर्खँदै बिउ कुहिन थाल्यो,’ उनले भने, ‘लकडाउन भनेर घरमै बसेर मात्र के गर्ने, जेनतेन रोपे बाँचे खान पाइएला ।’ गाउँका अधिकांश खेतीयोग्य जमिन बाँझो भएकाले अब पनि नेपालीको बुद्धि नआए भोलिका दिनमा ठूलो खाद्यसंकट भोग्नुपर्ने उनको आकलन छ ।

भीमबहादुर मुखियाले दुई वर्षपछि चैते धान रोपे । उनी कामका लागि भारत गएका थिए । कोरोना संक्रमणबाट उत्पन्न परिस्थितिपछि उनी घर आए । घरमै बसेर मात्रै समय बिताउन गाह्रो भएकाले बेंसी झरेर धान रोपाइँ गर्न थालेको उनले बताए ।

सरिता मुखियाले धान रोप्न थालेका थुप्रै वर्ष भए । दैनिक मेलापात गरेरै उनले परिवार चलाएकी छिन् । गाउँमा धान रोपेको ज्याला तीन सय छ । उनले दैनिक धान रोप्ने, मल बोक्ने, गहुँ काट्नेलगायतका काममा व्यस्त हुने भएकाले लकडाउनको कुनै मतलब नभएको बताइन् ।

चार सय ४० हेक्टरमा चैतेधान

सिँचाइ सुविधा भएको र सिमसार क्षेत्रमा किसानले चैतेधान लगाउने गर्छन् । जिल्लाका चौरासी फाँट, मजुवा, चाँपटारी, शान्तिपुर, रूपाकोट, खर्ज्याङ, जुहाङ, हासरा, हस्तिचौर, कुर्घालगायतका स्थानका फाँटहरूमा चैतेधान खेती हुने गर्छ । जिल्लामा चार सय ४० हेक्टर क्षेत्रफलमा चैतेधानको खेती हुने तथ्यांक छ ।

सिँचाइ सुविधा भएमा थप दुई सय ९५ हेक्टर क्षेत्रफलमा चैतेधान विस्तार गर्न सकिने कृषि ज्ञान केन्द्र गुल्मीका कृषि अधिकृत सनबहादुर रानाले बताए । गुल्मीमा करिब १५ सय मेट्रिक टन चैतेधान उत्पादन हुने गरेको उनले बताए ।

सिँचाइ सुविधा भएको खेतमा चैतेधान रोप्ने र सिँचाइ नहुने खेतबारीमा मकै रोपिएको छ । मकै रोप्ने तथा मल फाल्ने, केराउ, तोरी र गहुँ स्याहार्ने काममा किसान व्यस्त छन् । इस्मा गाउँपालिका– १ हस्तिचौरको र्याले फाँटमा मकै गोड्न व्यस्त रहेका किसान सुमन्त भण्डारीले अहिले लकडाउन भनेर घरमै माक्स लगाएर बसे भोलि साँच्चिकै मुख बन्द गर्नुपर्ने अवस्था आउने बताए ।

उनले सचेत भएर आफ्नो कृषि कर्म गरिरहेको र अरूलाई पनि सचेत भएर काम गर्न आग्रह गरे । आठजना खेतला लिएर बेंसी झरेका भण्डारीले पानी परेर ठिक्क भएकाले मकैको काम गर्नुको विकल्प नभएको बताए ।

‘बिहान–बेलुका घरको दिउँसोमा खेतबारीको कामले फुर्सद छैन,’ उनले भने, ‘खेतबारीको कामलाई कसैले रोकेको छैन ।’ उनले यसवेला कृषि कर्म गर्नेहरूलाई प्रोत्साहित गर्ने, तर चोक र गल्लीमा कुरा काटेर बस्ने, तास खेल्ने र पिकनिक जानेहरूलाई गाउँपालिकाले कडा कारबाही गर्नुपर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

संबन्धित