आइतबार, २६ जेठ २०८२

पोल्ट्री व्यवसायमा एकाधिकार : चल्ला र दानाको मनपरी मूल्य

 

पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसरी कालोबजारी भएको हो । कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन् । राष्ट्रिय कुखुरापालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाउनुभयो ।

उहाँका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य ३,६०० रुपियाँ रहेको छ । पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपियाँ बढेको छ । सो अवधिमा प्रतिचल्ला ३० रुपियाँ पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपियाँ पुगेको छ । यसको बजार केही व्यापारीहरूमा नियन्त्रित र बजार अनुगमन प्रभावकारी हुन नसकेकाले यो समस्या आएको भन्दै अध्यक्ष खड्काले भन्नुभयो, “बजार अनुगमन गरेर कारबाही गर्नुपर्यो नि खै अनुगमन । ” सरकारको काम उद्योगीले नाफा खाएको र किसानले घाटा खाएको साक्षी बस्नेबाहेक अन्य कुनै काम नभएको उहाँको आरोप छ ।

पोल्ट्री व्यवसायीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने र कसैलाई मर्का नपार्ने तरिकारले मूल्य समायोजन गरौँ भनेर सरकारसँग माग गरेको धेरै भइसकेको तर कतैबाट पनि सुनुवाइ नभएको भन्दै किसानले गुनासो गर्दै आएका छन् ।

यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक डेढ सातादेखि अनुगमन कुखुरा,  दाता र चल्लामा केन्द्रित गरेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले गत सातादेखि विभागले सक्रिय रूपमा हेर्दै आएको छ । कुखुरा,  दाना र चल्ला महँगो हुनुको कारण कार्टेलिङ भएको स्वीकार गर्नुभयो । हामी कार्टेलिङ र मूल्य वृद्धिको सम्बन्ध पुष्टि गर्न लागेका छौँ ।

व्यापारी बजारप्रति जिम्मेवार भएर मूल्य घटाएको अवस्थामा तत्काल कारबाहीको प्रक्रियामा नजाउँला अन्यथा यही अवस्था रहे विभागले कडा कदम चाल्नै पर्छ र विभागले त्यो खालको अनुसन्धान खोजी गरिरहेको छ । उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिनाले सरकारको बजार अनुगमन प्रभावकारी नहुँदा बजारमा कुखुरा, चल्ला, दानालगायतमा व्यापारीले कार्टेलिङ्ग गरेको आरोप लगाउनुभयो । गोरखापत्र दैनिकबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *