मौरीलाई चरन क्षेत्रको अभाव हुँदै
पछिल्लो समय ओखलढुङ्गामा मौरीको चरन क्षेत्र अभाव हुन थालेको छ । जिल्लाका ग्रामीण क्षेत्रमा तोरीखेती हुन छाडेपछि मौरीको चरन क्षेत्र अभाव हुन थालेको हो ।
परम्परागत मौरी पालेका जिल्लाभरका किसान मौरीका लागि रस जुटाउन नसकेर चिनीको आहारा बनाइरहेका छन् । फागुन–चैत महिनामा गाउँका फाँटभरि तोरीका फूलले पहेँलै हुनुपर्ने भए पनि केही वर्षयता तोरी खेती गर्ने क्रम घट्दो छ ।
किसानले तोरी लगाउन छाडेपछि मौरीपालक किसान समस्यामा परेका हुन् । तोरी लगाएर तेल निकाल्ने समयसम्मको झन्झट, तोरी उत्पादन घट्दो क्रममा हुनु र गाउँमा कृषि पेसा गर्ने जनशक्तिको कमी लगायतका कारणले परम्परागत खेती प्रणाली नै यहाँका किसानले गर्न छाडेका छन् । जसले गर्दा तोरीखेती गर्ने किसान घटेका लिखु गाउँपालिका–६ का हरि भट्टराईको भनाइ छ ।
बेँसीका फाँटहरूमा हरेक हिउँदमा तोरी पहेंलै फुल्ने समयमा अहिले खेत बाझै रहेका छन्, वनजङ्गल पनि मासिँदो अवस्थामा भएका कारण मौरीको चरन अभाव भएको लिखु गाउँपालिका–६ का सरोज खत्रीले बताउनुभयो ।
आफ्नो घरमा पुस्तौँदेखि नै परम्परागत रूपमा मौरी पाल्दै आएको र पहिले सबैले तोरीखेती मासेका कारण मौरीको चरन पनि मासिँदै गएको उहाँले बताउनुभयो ।
मौरीले तोरीको फूलको रसबाट यो सिजनमा उल्लेख्य मह निकाल्न सक्ने भए पनि तोरीको उत्पादन घटेसँगै मौरीको चरन अभाव हुँदै गएको हो । खिजीदेम्बा गाउँपालिका–२ रङ्गनीका मौरीपालक किसान लालबहादुर खड्काले पाँच–छ वर्षयता हिउँदका पाँच महिना मौरीलाई चरनको अभाव हुने गरेको बताउनुभयो ।