सघन गहुँ खेती प्रविधि

सघन धान खेतीको जस्तै सिद्धान्तहरुको प्रयोग गरी गहुँ खेती गर्ने नयाँ अभ्यासलाई सघन गहुँ खेती भनिन्छ । जसलाई अङ्ग्रेजीमा System of Wheat Intensification (SWI) भनिने गरिन्छ । सघन धान खेतीमा भएको सफलता र किसानलाई भएको फाईदालाई ध्यानमा राखी सघन प्रबिधिबाट गहुँ खेती गर्न सुरु गरिएको हो । यस पद्धतिको सुरुवात सन् २००८-२००९ मा बिहार ग्रामीण जीविका प्रवर्द्धन समाज र कृषि प्रविधि व्यवस्थापन एजेन्सी नामका गैरसरकारी संस्थाले गहुँको खेतीमा SRI विधिहरूको प्रयोगलाई प्रबंधन गर्न पहल पश्चात् विस्तारै विकसित भएको मानिन्छ ।
यो गहुँ खेती गर्ने नयाँ प्रविधि भएकाले अझै पनि नेपाली किसानको लागि नयाँ नौलो मानिने गरिन्छ । सीमित स्रोतसाधनले खेती गर्न सकिने यो सघन गहुँ खेती २०१०/११ मा नेपालले यूरोपीयन युनियन अन्तर्गत खाद्य सुविधा परियोजना अन्तर्गत कैलालीमा संचालनमा अभ्यास गरिएको थियो । सघन गहुँ खेती गहुँको उत्पादकत्व बढाउने एक उपयुक्त प्रविधि हो जसको परिणाम अनुसार उत्पादन ९१ प्रतिशतसम्म (Khadka and Raut,2011) ले बढेको अनुसन्धानले देखाएको छ ।
सघन गहुँ खेतीको सिद्धान्तहरू यस प्रकार रहेका छन्
जरा विकास
विरुवा लगाइसकेपछि त्यसको पहिलो प्राथमिकता भनेको जड विकास हो । बिरुवा राम्रोसँग हुर्कन को लागि जरा राम्रोसँग फैलिनु पर्दछ । जसको लागि एक बोट देखि अर्को बोटको दूरी बढी हुनुपर्दछ जसको कारण जरा राम्रो सँग फैलिएर बिरुवाले सहि मात्रामा खाद्द तत्व लिन सक्दछ र उत्पादन बड्द्छ ।
गहन तथा तीब्र हेरचाह
सघन भन्नाले प्रति एकाइ क्षेत्रफलमा धेरै बोट लगाउने हो भन्ने बुझ्नुहुँदैन । यो भनेको दिईएको क्षेत्रफलमा यस प्रणाली अनुसार र उचित दूरि कायम गरि बोटलाई राम्रो सँग हेरचाह गर्ने पद्धति हो । जसले गर्दा बिरुवाले राम्रो सँग खाद्य तत्व लिन सक्छ, रोग कीराको प्रकोप कम हुन्छ, हावाको आवतजावत बढी हुन्छ र काट्छाट झारपात हटाउन सजिलो हुन्छ ।
बीउको चुनाव
सघन गहुँ खेती प्रविधिबाट खेतीको लागि सामन्यता क्षेत्र /ठाउँ अनुसार सिफारिस जातहरु प्रयोग गर्न सकिने भए पनि WK-१२०४ ,पासाङ ल्हामु नामका दुई जातलाई यो प्रविधिबाट खेती गर्दा राम्रो उत्पादन भएको मानिन्छ । सफा,उमार शक्ति बढी भएको रोग तथा कीरामुक्त सुख्खा र नयाँ बीउ प्रयोग गर्नुपर्छ ।
बीउको दर
सामान्यतया गहुँ खेती गर्दा प्रतिरोपनी ८-१० के.जी बीउको आवश्यकता पर्दछ भने सघन गहुँ खेती प्रविधिबाट खेती गर्दा प्रति रोपनी जग्गाको लागि जम्मा १-२ के.जी बीउको आवश्यकता पर्दछ । उपचार गरिएको बीजको उच्च अंकुरण दर भएकाले थोरै बीउले धेरै उत्पादन गर्न सकिन्छ ।
बीउ उपचार गर्ने सामग्री
– मनतातो पानी: १० लिटर
– गहुँको बीउ : ५ के.जी
– वर्मी कम्पोस्ट : २ के.जी
– गुड : ४ के.जी
– गौमुत्र : ३ लिटर
– बेविस्टिन : १० ग्राम
बीउ उपचार गर्ने तरिका
बीउ उपचार गर्न कुनै भाडामा १० लिटर मनतातो पानी (६० डिग्री) लिईन्छ । पानीको तापमान हात राखेर थाहा पाउन सकिन्छ । त्यसपछि तातो पानीमा ५ किलो गहुँको बीउ राखिन्छ । पानीको माथि तहरिएको बीउहरुलाई छानेर हटाईन्छ । अब पानीमा २ किलो वर्मीकम्पोस्ट, ४ किलो गुड र ३ लिटर गौमुत्र मिलाएर तयार पारिएको मिश्रणलाई ६-८ घन्टाको लागि छोडिन्छ । आठ घन्टापछि बीउ सहितको ठोस सामग्रीहरु र तरलहरु छुट्याउनको लागि यसलाई फिल्टर गरिन्छ । फिल्टर गरिसकेपछि त्यसमा १० ग्राम बाविस्टिन मिलाईन्छ र फेरि पनि यो मिश्रणलाई १०-१२ घन्टाको लागि छाँयादार ठाउँमा राखिन्छ । यसरी बीउको उपचार गरेमा वीउको तीव्र विकास हुनुको साथसाथै रोगसँग लड्ने क्षमता पनि बढद्छ ।
बीउ प्राइमिङ
बीउ को प्राइमिङ भनेको बीउलाई रोप्नु भन्दा पहिले गरिने प्रकिया हो जसले गर्दा बीउ उम्रनका लागि आवश्यक पर्ने सम्पूर्ण भौतिक तथा मेटाबोलिक कृयाकलाप लाई सकृय बनाउछ तर रेडिकललाई भने बाहिर निस्कन रोक्छ । बीउ प्राइमिङ गर्दा बीउको तीव्र विकास हुन्छ ।
जमिनको तयारी
खेतमा प्रशस्त चिस्यान हुनुपर्छ । यदि चिस्यान छैन अथवा कम छ भने सिँचाइ गरी उपयुक्त चिस्यान व्यवस्थापन गर्नुपर्दछ । झारपात भएमा हटाउनु पर्दछ । खनजोत गर्दा गोबर वा कम्पोस्ट मल मिसाएर माटोलाई तयार गरिन्छ । अन्तिम जोत्नु अगाडि डिए पि ,पोटास जस्ता रासायनिक मल क्षेत्रफल ओगट्ने गरि राम्ररी खनजोत गरिन्छ ।
बीउ लगाउने दूरी / गहिराई
तयार गरिएको खेतमा अथवा डोरीको सहायताले २०x२० से.मी को दूरीमा बीउ लगाइन्छ । बीउ राखेपछि माथिबाट माटोले पुरिन्छ । बीउलाई २-३ से.मी गहिराई भएको खाल्डो बनाएर रोपिन्छ ।
सिँचाई
बीउ छरेको १०-१५ दिनमा जरा निस्किन थाल्छ ।
यतिबेला पहिलो सिँचाई गर्न सकिन्छ । प्रथम सिँचाई गरेपछि ४ किलो यूरिया वा १-२ किलो कम्पोस्ट मल प्रति रोपनी छर्किईन्छ । बीउ छरेको २५ दिनमा दोस्रो सिँचाई गरिन्छ भने ३५-४० दिन पछि तेस्रो सिँचाई गरिन्छ । यसपछि बीउ छिटो बढ्न थाल्छ । तेस्रो सिँचाई पछि २ किलो यूरिया र १ के.जी पोटास प्रति रोपनी छर्किइन्छ । गहुँलाई आवश्यकता अनुसार सिँचाई गरिराख्नुपर्छ । बीउ छरेको ७०,८०,१०० दिनमा चौथो पाचौं र छैटौं सिँचाई गरिन्छ ।
गोडमल
पहिलो , दोस्रो र तेस्रो सिँचाई गरेको केही दिनमा Conoweeder मेसिनको मद्धतले गोडमल गरेर माटोलाई कलिलो बनाईन्छ । यसो गर्दा विरुवाको जराले हावा पानी प्रशस्त मात्रामा पाँउछ र यसको राम्रो विकास हुन्छ ।
ध्यान दिनुपर्ने कुरा
– बीउको उपचार गर्नु एकदमै जरुरी हुन्छ,
– माटोलाई बारम्बार गोडमल गर्नुपर्छ,
– विरुवाले प्रशस्त हावा र प्रकाश पाउनको लागि फराकिलो रोपाइ गर्नुपर्छ,
– फूल आउने वा दानामा दूध भर्ने बेला पानीको कमी हुँदैन।
सघन गहुँ खेतीको फाइदा
– कम बीउ लाग्ने,
– परम्परागत तरिकामा भन्दा बढी उत्पादन हुने,
– रोगकीरा कम लाग्ने,
– फराकिलो रोपाइ भएकाले विरुवाले प्रशस्त मात्रामा हावा,प्रकाश पाउने,
– किसानहरुले आफ्नो जीवनस्तर सुधार गर्न सक्छन्,
– बेरोजगारी समस्या समाधान गर्न सकिन्छ ।
कम श्रोत र साधनको प्रयोगले उत्पादन गर्न सकिने यो प्रविधि नेपाल जस्तो भौगोलिक अवस्था भएको देशलाई सुहाउँदो छ । त्यसैले परम्परागत प्रविधिको प्रयोग गर्नु भन्दा सघन गहुँ खेतीको (SWI) प्रयोग गरेर २/४ गुणा बढी उत्पादनको सम्भावना राख्नु नै उत्तम हुन्छ ।
सन्दर्भ सामग्रीहरु
Rana.L,Banerjee.H, K and Sarkar (2017) System Of Wheat Intensification (SWI) : New approach for increasing wheat yield in small farming system.
Khadka,R.B and Raut ,P (2011) System Of Wheat Intensification(SWI) : A new input technology for increasing what yield in marginal land. Retrieved from: http://Sri.ciifad.cornell.edu