सोमबार, २१ माघ २०८१

खेतमै सुक्यो धान, पशुलाई आहारा बन्दै

बाँकेको नरैनापुर गाउँपालिका–५ मटैयाका करियाती धोबीले असारमा रोपेका धानमा यतिबेला बाला लागिसक्नुपर्ने थियो । तर यस वर्ष उनलाई प्रकृतिले साथ दिएन । पानीको अभावमा बाला लाग्न नपाउँदै खेतमै धान सुक्न थाल्यो । अहिले उनले त्यही धान काटेर भैंसीलाई घाँस बनाउँदै आएका छन् ।

एकातिर कोरोनाले भारत गएर रोजगारी गर्ने अवसर गुमेको छ । अर्कोतिर गाउँमै गरिखाने थलो कतै छैन । बल्लतल्ल लगाएको धान पनि खेतमै सुकेपछि उनी निराश छन् । ससाना छोराछोरी र नातिनातिनासहित १० जनाको संयुक्त परिवार पाल्नुपर्ने बाध्यताले उनलाई झनै पिरलो पारेको छ । २० कट्ठा खेतमा धान लगाउँदा गत वर्ष १३ क्विन्टल धान उत्पादन भएको उनले सम्झिए । ‘परिवार ठूलो छ, पुरानो धान सबै खाएर सकियो,’ उनले भने, ‘यस वर्ष धान भित्रिनै मुस्किल छ ।’ २० कट्ठा खेतमा लगाएको सबै धान बाला नलाउँदै सुकेको उनले गुनासो गरे ।

नरैनापुर गाउँपालिकाको मटैया गाउँमा झन्डै १५ हजार किसान खेती गर्छन् । यीमध्ये आधाजसोको खेती सिँचाइ अभावले सुक्खा परेको स्थानीय किसान बताउँछन् । ६५ वर्षे किसान कृपाराम धोबीले २४ कट्ठा खेतमा धान रोपेका थिए । रोपाइँमा मल नपाएर भौंतारिनुको पीडा नभुल्दै दुई महिनायता पानीको अभावमा बाली नष्ट भएको उनले सुनाए । राप्ती नदी छेउमा केही खेतीयोग्य जमिन थियो उनको । बाढीले बगर बनाएपछि उत्पादनको एउटै थलो २४ कट्ठा जमिन थियो । नरैनापुरको उचाइमा पर्ने यो क्षेत्रमा आएर बस्नुको कारण वर्षात्मा डुबानबाट जोगिनु भएको उनले सुनाए । डुबानदेखि जोगिए पनि खेती भने सुक्खा हुँदा यहाँका किसान चिन्तित छन् । एक वर्षअघि किनेको बोरिङ बिग्रिएकाले मर्मत गर्न नसकिएको उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *