‘जिरीको आलु’ ले बजार लिदै, सुन्दर प्याकिजिङ संगै ‘डिपार्टमेन्टल स्टोर’मा पनि
राजधानीका विभिन्न डिपार्टमेन्टल स्टोर देखि सामान्य पसलमा समेत ‘जिरी आलु’ लेखिएका आलुले बजार लिन थालेका छन् ।
ट्रकका ट्रक बोरामा कोचाएर आलु राजधानी पठाउने गरेका दोलखाका किसानहरु ऐले भने पारदर्शी पोकामा बन्द गरेर ब्राण्ड सहित बजारमा पठाउन थालेका छन् । जिरीको खाँवाडाँडा आलुको लागि विशेष पकेट क्षेत्रका रुपमा मानिदै आएपनि मुडे, शैलुङ, खरीढुंगा लगाएतका विभिन्न ठाउँबाट आलु जिल्ला बाहिरिने गरेको पाईएको छ ।
समुन्द्र सतह देखि २५०० मिटर उचाई भन्दा माथिको आलुलाई ब्राण्ड गर्न लैजाने गरिएको जिरी नगरपालिकाले जनाएको छ । कृषकले उत्पादन गरेको आलुलाई स्थानीय कृषक समूहले जम्मा गरेर आलु छानेर ब्राण्ड गरिने गरिएको छ ।
आलुको उत्पादन देखि बजार सम्मको लागि गर्नुपर्ने विभिन्न क्रियाकलापहरु जस्तै प्रशोधन, ब्राण्डिङ, लेभलिङ र बजारिकरणमा स्थानीय रुपमा संग्लग्न एक गैरसरकारी संस्थाले सहजीकरण गरेको छ ।
नगरपालिकाबाट बाहिरिएको ३२ सय ५८ टन आलु मध्ये ६ टन आलु भने ब्राण्डिङ भएर बाहिरिएको कृषक समूहले जनाएको छ ।
अर्गानिक जिरी घोषण गर्ने सोचका साथ लागेको नगरपालिकाले कृषक समूहका माध्यमबाट आलु बेच्ने र कृषक आर्थिक स्थितीमा सुधार ल्याउनका लागि अभ्यास गरिदै लगिएको पनि नगरपालिकाले बताएको छ । ३०० बढी घरधुरी भएकोमा प्रत्येक जसो घरले १ देखि ३ टनसम्म आलु बिक्री गर्ने गरेका छन् । किसानलाई ३० रुपैयाँ प्रति किलोका दरले दिईने आलुलाई प्याकिङ पश्चात भने ३८ रुपैयाँ प्रति किलोका दरले बजारमा पाउन सकिने कृषकहरु बताउँछन् ।