स्वदेशको माटोमा पसिना : तरकारी खेती बाटै लाखौँ आम्दानी
दुई दशक देखि तरकारी खेती गर्दै आउनु भएका खजुरा गाउँपालिका – ३ का पदमबहादुर रानाले अहिले वार्षिक सयौं क्विन्टल तरकारी उत्पादन गरिरहनु भएको छ । २०५३ सालमा श्रीमतीको सुन बन्धकी राखेर राणा कृषि फर्म स्थापना गरी डेढ कट्ठाबाट तरकारी खेती सुरु गर्नुभएका उहाँले अहिले तीन बिघा जग्गामा मौसमी र बेमौसमी तरकारी उत्पादन गरिरहनु भएको छ ।
उहाँले अहिले वार्षिक १,२०० क्विन्टल तरकारी बेचेर सबै खर्च कटाउँदा १५ लाख बन्दा बढी चोखो नाफा कमाउने गरेको बताउनु भयो । रानाले भन्नु भयो, “हरेक वर्षमा एकैनासको उत्पादन हुँदैन तर पनि बर्सेनि हजार देखि १२ सय क्विन्टल तरकारी उत्पादन गरेर बिक्रि गर्ने गरेको छु ।” वर्षमा १२ देखि १४ लाख रुपैयाँ सम्म चोखो आम्दानि हुने गरेको छ । आधुनिक प्रविधि अपनाएर व्यवसायिक रुपमा तरकारी खेती गरेर एक सफल किसानको परिचय बनाउन सफल हुनुभएको रानाले विदेश जाने सोच त्यागेर आफ्नै माटोमा केहि गरौँ भन्ने विचारले यहाँ सम्म पुर्याएको बताउनु हुन्छ ।
गहना बन्धकी राखेर सुरु गरेको तरकारी खेती फस्टाउँदै जाँदा सोहिबात दुई बिघा जग्गा किनेको, पक्की घर बनाएको र छोराछोरीलाई उच्च शिक्षा पढाएको उहाँले बताउनु भयो । बाह्रै महिना तरकारी उत्पादन गर्ने रानाले आफ्नो खेतमा भेडे खुर्सानी, काउली, बन्दा, काँक्रा, टमाटर, करेला, बोडी र लौका उत्पादन गर्दै आउनु भयो । उहाँले टमाटर, भेडे खुर्सानी र काँक्राले सबै भन्दा बढी आम्दानी दिईरहेको बताउनु भयो ।
उहाँले गरेको आधुनिक प्रविधि सहितको तरकारी खेती अहिले बाँकेमा मात्र नभई देशभरिमै नोना बन्दै गएको छ । उहाँले खेती हेरेर खजुराका अन्य किसानले पनि तरकारी खेती सुरु गरेका छन् ।
उहाँले खेती हेर्न र प्रविधिबारे थाहा पाउन दिनदिनै ठुलो संख्यामा बाँके, बर्दिया, दाङ र अन्य जिल्लाका किसान आउने गरेका छन् । मेरो खेतबारी हेर्न र सोबारे जानकारी लिन दिन दिनै धेरै किसान र विद्यार्थी आउँछन्, मैले सबैलाई माटो, हावापानी र बजार चिनेर खेती गर्ने सल्लाह दिएर पठाउँछु, उहाँले भन्नुभयो।
रानाको खेतबारीमा काम सिकेर जिल्लाका धेरै युवा व्यवसायिक बनेका छन् । बाँकेमा पहिलोपटक राष्ट्रपति पुरस्कारबाट पुरष्कृत तथा सम्मानित भईसक्नुभएका रानाले आगमी दिनमा तरकारी खेती विस्तार गर्ने योजना बताउनु भएको छ ।